काठमाडौं- अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा १२ को परीक्षा दिइरहेकी छिन्। परीक्षाको तयारीका कारण उनी पढाइमा व्यस्त छिन्।
मानन्धरलाई परीक्षाको बारेमा के कस्तो भइरहेको छ भन्नेबारे बुझ्न पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मानन्धरले आफूलाई पूर्व प्रधानमन्त्री ओलीको फोन आएको जानकारी दिएकी हुन्।
ओलीले आफूलाई फोन गरेर परीक्षा कस्तो भइरहेको छ भनेर सोधेको करिश्माले उल्लेख गरेकी छन्। करिश्माले फेसबुकमा लेखेकी छन्, ‘फोन आउँदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली भन्ने आयो। म छक्क परे। मजाक हो कि भन्ने पनि लाग्यो। तर, उहाँ हाम्रो देशको पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो।’
पूर्व प्रधानमन्त्री ओलीको आवाज सुन्दा आफूलाई घर मुलीले छोराछोरीलाई भनेजस्तै लागेको करिश्माले उल्लेख गरेकी छन्। उनले आफूलाई सुरुवातमा फोन गर्ने ओली नै हुन् भन्ने विश्वास नलागेको बताएकी छिन्। ओलीले फोनमा करिश्मालाई डुङ्गाको कथा सुनाएका थिए। त्यसपछि भने फोन गर्ने ओली नै भएकोमा आफू विश्वस्त भएको उनले बताएकी छिन्। करिश्माले लेखेकी छन्, ‘विश्वास नलागेको बताएपछि उहाँले डुङ्गाको कथा सुनाउनु भयो। कथा सुनेर लाग्यो हाम्रो केपी जि हो।’
मानन्धरले आफूजस्तो ‘सामान्य कलाकार’लाई फोन गरेकोमा पूर्व प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।