तिब्बतस्थित कैलासको फेदीको बस्ती दार्चेनमा आइपुग्दा २०५० भाद्र १८ गतेको बिहान थियो। दार्चेनमै जन्मे हुर्केका र यहीँ उमेरका खुड्किलाहरू उक्लँदै उक्लँदै गइरहेका मान्छेहरूको लागि यो बिहानको अलग्गै महत्व थिएन, सायद। यो बिहानले दिएको अनुभूति र यसले बोकेर ल्याएको उत्साह पनि हिजो, अस्ति र बितेका क्रैयौँ बिहानहरूभन्दा फरक थिएन। उनीहरूको व्यवहार र हाउभाउ हेर्दा यस्तै लाग्थ्यो।
तर, यो ठाउँमा हिजो दिउँसो मात्रै पहिलो पाइला टेकेका हामीलाई यो बिहान अत्यन्तै महत्वपूर्ण थियो। अत्यन्तै उद्देश्यपूर्ण थियो र सर्वथा नौलो पनि। बिहानै हामीले उत्सुकतापूर्वक यो बिहानको स्वागत गर्यौँ। तर, जुन खुशी हामी बिहानसँग साटेर रमाउन चाहन्थ्यौँ, जुन प्रीति बिहानसँग गाँसेर जगमगाउन चाहन्थ्यौँ र जुन सपनाको कोपिलामा रङहरू भरेर मगमगाउन चाहन्थ्यौँ, आजको बिहान त्यही चिज नबोकेर रित्तो हात आइपुगेको थियो, दार्चेनमा। मौसम बिहानैदेखि गजधम्म परेर बसेको थियो। वातावरण चिसो र शोकाकुल भएको थियो। चिसो सिरेटो र स्याँठ मान्छेको मुटु कलेजो छाम्दै दुगुरिरहेको थियो।
आज राति हिउँ परेछ कैलाशमा। त्यो हिउँ क्रमशः खस्दै गएर निकै तलसम्म आइपुगेछ, झन्डैझन्डै गाउँसम्म नै। अहिले पनि शीतका थोपाहरू खसिरहेका थिए। बादल लागेर वातावरण अन्धो भइरहेको थियो। यी कुराहरूले गर्दा कैलाशको परिक्रमा गर्ने र रमाइला रमाइला दृश्यहरू हेर्ने हाम्रो रहरमा पनि हिमपात होला कि जस्तो हुन थाल्यो। हिजोको झलमल्ल घाम र सफा तथा उज्यालो वातावरण केवल सपना पो थियो कि ! भनेजस्तो पनि लाग्न थाल्यो। हामी रनभुल्ल परेर अलमलिइरहेका थियौँ; अलि पर अर्को गेष्ट हाउसमा बस्नुभएका सहयात्रीहरू गोकर्णजी, झाजी र चन्द्रजी आइपुग्नुभयो उस्तै बादल बोकेर अनुहारमा।
‘कैलाश घुम्ने सपना कतै अधुरै पो हुने हो कि!’ गोकर्णजीको चिन्ता बोल्यो।
‘खोइ, केही भन्नै नसकिने भो।’ राजनारायणजीले भन्नुभयो।
मलाई चाहिँ कैलाश पर्वत घुम्नेभन्दा पनि कैलाशपारिका दृश्यहरूभरि छरिएर खेल्ने र नयाँ नयाँ अनुभव तथा रङहरूमा आफ्नो रहर कतै त्यत्तिकै ओइलाउने पो हो कि भन्ने आशङ्काले भित्रभित्रैबाट सल्काउन थालेको थियो। म चूपचाप गेष्ट हाउसको हाताबाहिर आएँ र चिसोसँग लाप्पा खेल्दै नजिकै नजिकैसम्म आइपुगेको हिउँ हेर्न थालेँ। त्यो हिउँलाई गएर एकछिन खेलाउन पाए कस्तो अनुभूतिले भरिन्थेँ हुँला? मभित्र मसिनो लोभ सरर्र कुद्यो। मैले हिउँलाई निकै बेरसम्म हेरिरहेँ।
मौसम अलिअलि सफा हुँदै आयो। माथि आकासमा पिलिक्क घाम उदाएको पनि देखियो। तर, मौसम पूरै सफा र उज्यालो भने भएन। बादल उडेर कतै यात्रामा पनि गएन। घामले आफ्नो अनुहार बादल चिरेर राम्ररी देखाउन पनि सकेन। हामी यात्रामा जाने कि नजाने भनेर दोधारमा अल्मलिइरह्यौँ। जाऔँ भने पनि यस्तो मौसमको के ठेगान र? केही भयो भने को थियो र परदेशमा हाम्रो? नजाऔँ भने पनि मुस्किलले यहाँसम्म आएको यसैको लागि। धर्म त के भयो र जहाँ गएर गरे पनि हुन्छ, तर यहाँको यात्रामा देखिने दृश्यहरू र भोगिने जीवन अन्त कहीँ पनि देख्न र भोग्न भने पाइने छैन। फेरि अर्कोपल्ट आउन पनि भन्ने बित्तिकै कहाँ सकिन्छ र! यसैपालि त कति मुस्किलले हिँडिया थियो, यात्रामा। त्यसैले हामीभित्र बेचैनी बढिरहेको थियो। दोधारको तिक्त छुवाइले झन्झन् धेरै छोइरहेको थियो हामीलाई।
यसैबीच राजनारायणजी गह्रौँ स्वरमा बोल्नुभयो – ‘घुम्न पाइएन भन्ने धोको रहे पनि मलाई नजौँ जस्तो लाग्यो।’
उहाँको कुराले मेरो मनभित्र झनै कालो बादल उठ्यो। मैले कुनै प्रतिक्रिया जनाउन चाहिनँ। मेरो एकोहोरो मौनतालाई उहाँले कसरी लिनुभयो कुन्नि, सोध्नुभयो–
‘तपाईंको के विचार छ?’
‘खोइ के भनूँ, मौसम यस्तो छ। मलाई त जानै मन छ।’ मैले उदास भएर भनेँ। गोकर्णजी र झाजीले पनि आग्रह गरे– ‘जाऔँ, त्यस्तो केही नहोला।’
हामीले उहाँहरूलाई भन्यौँ– ‘गएर तयार हुनुहोस्। हामी सल्लाह गरेर आउने भए त्यहीँ आउँछौँ, तर पर्खन चाहिँ नपर्खनोस्।’
उहाँहरू जानुभएपछि मैले राजनारायणजीसँग अनेक कोणहरूबाट कुरालाई अघि सारेँ र जे भए पनि यात्रामा हिँडिसकेपछि पछि नहट्न आग्रह गरेँ। अन्त्यमा दुई, साढे दुई घन्टाजतिको बाटो हिँड्ने, उताका दृश्यहरू हेर्ने र अझै पनि मौसममा सुधार भएन भने फर्कने टुङ्गोमा पुग्यौँ हामी। गेष्ट हाउसको बील चुक्ता गर्यौँ। केही सामानहरू गेष्ट हाउसकै कर्मचारीको आवासमा राख्यौँ र ब्याग बोकेर लाग्यौँ बाटो। यति बेला बिहानको ८ बजेको थियो।
हामी आउँदैनौँ भन्ने लागेर बाँकी सबै सहयात्रीहरू यात्रामा हिँडिसक्नुभएछ। हामी पनि एक जना तिब्बतीलाई बाटो सोधेर बिस्तारै बिस्तारै अघि बढ्यौँ। कमसेकम यात्रामा त निस्कियौँ हामी। मभित्रको दिक्दारी र बेचैनीको बोझ अलि कम भयो र मन पखेटा हालेर यताउता उड्न थाल्यो।
मैले एकपल्ट कैलाशको शिरतिर हेरेँ। बादलले छोपेर केही देखिँदैनथ्यो। हिजोजस्तै मौसम सफा भइदिएको भए कति राम्रोसँग देखियो थियो हिमाल आज र हामी यात्राको आनन्दको पूर्णतामा कति मज्जाले झुम्ने थियौँ। भौगो, भोलि खिचौँला कैलाशको फोटोहरू विभिन्न ठाउँबाट भनेर हिजो थोरै अल्छी गर्नाले आज पछुतोले चुकचुकाउनु हाम्रो दिनचर्याको एउटा हिस्सा भएको थियो। गर्नुपर्ने काम गरिहाल्नुपर्छ भन्ने चेतनाले हिजै गतिलोसँग कोर्रा हानिदिएको भए हामीले आज यो दुर्गति भोग्नु पर्दैनथ्यो होला। आफ्नै अलमस्तिपनासँग पनि मलाई विरक्त लाग्यो। त्यही कैलाशको फोटोहरू खिचेर लैजाने हाम्रो रहर जुन यस पटकलाई अधुरै रहने सम्भावनाको प्रतिशत बढिरहेको थियो, म बाटोमा त्यसैलाई सुम्सुम्याउँदै हिँडिरहेँ।
निकै अगाडि हाम्रा सहयात्रीहरू हिँडिरहेको देख्यौँ, हामीले। हामीले हात हल्लायौँ। उहाँहरूले देख्नुभएछ, त्यसरी नै हात हल्लाउनुभयो खुशीले, तर हामीलाई पर्खनुभएन।
९ बज्दा हामी एउटा रमाइलो डाँडामाथि आइपुग्यौँ। यहाँ ढुङ्गा थुपारेर र लुङ्ता, ध्वजापताका फर्फराएर धार्मिक आस्था रोपिएको रहेछ। हामी यसैको छेउमा ढुङ्गामाथि बस्यौँ र थकाइ मार्दै हेर्न थाल्यौँ, वारिपारिका दृश्य। पारिपट्टि हेर्दा डाँडाहरूको टुप्पोमाथि घामको ज्योति पोतिएको देखिन्थ्यो। पूर्वपट्टि भने राक्षस ताल देखिन्थ्यो। त्यस तालबाट कालो न कालो बादल उठेर आकासतिर उडिरहेको अनौठो दृश्य देखिन्थ्यो। हामी दुवै जना बडो चाख लिएर हेर्न थाल्यौँ त्यो दृश्य। तर जब यी काला बादलहरू वातावरणमा भएको उज्यालोलाई छोप्दै हामी भएतिरै उडेर आउन थाले, हाम्रो यात्रामा अनिष्टको आशङ्का बढ्न थाल्यो। यो बाटोमा हिँड्दै जाँदा एउटा रातो गुम्बा भेटिनेछ भनिएको थियो हामीलाई। मैले बाटाको पल्लो छेउसम्म (जहाँदेखि उता बाटोलाई पहाडले छेक्थ्यो) हेरेँ, तर गुम्बा देखिएन। त्यहाँसम्मको दूरी पनि कम थिएन।
‘होइन, फर्कौं अब,’ राजनारायणजीले भन्नुभयो।
‘जाऔँ न जाऔँ। ऊ त्यो पल्लो छेउसम्म त जाऔँ, अनि फर्कौंला,’ मैले ढिपी मात्र गरिनँ, उठेर हिँड्न पनि थालेँ। म हिँड्न थालेपछि राजनारायणजी पनि गह्रौं पाइला सारेर पछिपछि आउन थाल्नुभयो।
हामी तीन, चार सय मिटरजति हिँडेका मात्र थियौँ होला, पानीका थोपाहरू खस्न थाले। पानीका ठूला ठूला थोपाहरू खसुन्जेलसम्म पनि हामी अगाडि नै गइरह्यौँ। तर एकैछिनपछि हिउँ पनि खस्न थाल्यो। यसपछि मेरो मनमा झल्याँस्स एउटा कुरा आयो। शायद शङ्करजी माथि कैलाशबाट हामीलाई फर्कन आदेश दिँदै हुनुहुन्छ– ‘तिमीहरूलाई कैलाश परिक्रमाको आवश्यकता छैन। फर्क, अब फर्क।’
अब हामी देवाधिदेवको आदेशलाई टार्नसक्ने वा नमानेर हिँड्नसक्ने जीव त होइनौँ। यो अनुभूतिमा उब्जिएको मौन आदेशलाई तत्काल शिरोधार्य गरी हामीले यात्राको इच्छालाई तुरुन्तै त्यागिदियौँ र दार्चेनतिरै फर्कन थाल्यौँ। हिउँ झन्झन् बाक्लिन थाल्यो, झन्झन् बाक्लिन थाल्यो।
अब हामी देवाधिदेवको आदेशलाई टार्नसक्ने वा नमानेर हिँड्नसक्ने जीव त होइनौँ। यो अनुभूतिमा उब्जिएको मौन आदेशलाई तत्काल शिरोधार्य गरी हामीले यात्राको इच्छालाई तुरुन्तै त्यागिदियौँ र दार्चेनतिरै फर्कन थाल्यौँ। हिउँ झन्झन् बाक्लिन थाल्यो, झन्झन् बाक्लिन थाल्यो। मैले हात फैलाएर हिउँलाई अञ्जुलीमा थापेर खेलाएँ एकछिन। त्यो एकदम चिसो थियो तर हिउँको प्रथम स्पर्शको अनुभूति भने चिसो थिएन। कहिलेकाहीँ बाक्लो हावा चल्दा हाम्रो गाउँघरतिर सिमलको रूखबाट भुवाहरू उडेर खस्थे जमिनभरि। यो हिउँ पनि मलाई त्यस्तै लाग्यो शुरु शुरुमा। तर एकैछिनपछि भने भुवा होइन तर ठूलाठूला फाल्सा–फाल्सा भएर खस्न थाल्यो हिउँ। त्यो हिउँ एकदम बाक्लोसँग खस्यो। हामी यसैको बीचबाट हिँडिरह्यौँ। राक्षस ताल र मानसरोवरको दर्शन गरिसकेको मैले बाँकी रहेको गौरीकुण्डको भने दर्शन गर्न सकिनँ, यस यात्रामा।
मभित्र चिसो हिमाली भूभागमा जीवनको एउटा खण्ड बिताउने अतृप्त इच्छा छ, कहिले कहाँ गएर पूरा हुन्छ मलाई थाहा छैन। हिउँसँग खेल्ने, हिउँलाई चलाउने र केही आकृतिहरू पनि कोर्ने मेरो मनको त्यस्तै अर्को अतृप्त इच्छा हो। आज हिउँमा मस्त भिजिरहन पाउँदा मलाई भिजेँ भन्ने चिन्ता भएन। म हर्ष र गहिरो तृप्तिको चरमबिन्दुमा पुगेर फक्रिन पो थालेँ। मृदु भावनाहरू, मृदु कामना, नौलो अनुभूति र चिरप्रपीक्षित इच्छाको तृप्ति– म आह्लादमै हराइरहन थालेँ। मैले जिब्रो बाहिर निकालेँ र हिउँ थापेर दाँतले टोकेँ। दाँतै झर्लाजस्तो चिसो पो रहेछ।
यो स्थिति पनि धेरै बेरसम्म रहिरहन कहाँ पायो र! एकैछिनपछि कुम कुमभरि हिउँ थुप्रिसकेको थियो। टोपीमा, पाइन्टमा, ब्यागमा जहाँजहाँ त्यो खस्थ्यो त्यहीँ पग्लन थाल्थ्यो बिस्तारै। हामी हिउँको पानीले भिज्न पनि थाल्यौँ। एकछिनपछि त सर्वाङ्ग भिजिसकेका थियौँ। लगाएका लुगाहरू भारी भइरहेका थिए। कपडाले शरीरलाई छुँदा तीव्र अनुभूति हुन्थ्यो, चिसोको। चिसो झन्झन् छोइने हुँदै थियो, झन्झन् बिझ्ने हुँदै थियो। यो चिसोको गहिरो छुवाइ र सर्वाङ्ग भिजेको कारणले भने पीर पर्यो मनमा। लडिने पो हो कि अब बिरामी भएर ! एक किसिमको त्रास ब्यूँझिएर उठ्यो र तर्साउन थाल्यो।
मलाई अनायस लक्ष्मीप्रसाद देवकोटाको मुनामदनको मदनको याद आयो। तिब्बतमै त हो नि उनी पनि अलपत्र भएर छोडिएका। मलाई मुनाले जत्तिकै बाटोभरि आँखा ओछ्याएर पर्खिरहेकी आफ्नी साथीको याद आयो। आमाबुबा, भाइहरू र साथीसँगीको याद आयो। नजाऔँ भनेकै हो राजनारायणजीले, ब्यर्थै ढिपी गरेछु मैले। के भएको थियो र यति नहिँडेर। म साँच्चै लोभी नै रहेछु जीवन भोग्ने र बाँच्ने सवालमा।
लगभग आधा घन्टाजतिको हिउँ वर्षापछि मौसम अलिअलि सफा भयो र घाम झुलुक्क झुल्कियो बादल चिरेर। यति बेला लागेको घामसँग पनि रिस उठ्यो मलाई। कान समातेर घामलाई दुई, चार थप्पड हानिदिन पाए म साँच्चै नै खुशी हुने थिएँ अहिले।
मौसमकै कारणले हामीले कैलाश परिक्रमाको कार्यक्रम त त्यागिसकेका थियाैँ, तैपनि मैले कैलाश पर्वततिर दृष्टिलाई पैmलाइहेरेँ। झनै बाक्लो बादलभित्र हराएछ कैलाश। छन् भने पनि महादेव अब यही बादलभित्रै हराइरहुन् र उनकी प्रेयसी पार्वतीकै बाहुपाशमा बाँधिएर रमाइरहून्। हामी उनलाई बाधा पुर्याउने छैनौँ। भाङ र गाँजाकै नशामा लठ्ठिइरहून्। हामी उनको एकाग्रतालाई भत्काउने छैनौँ।
एक हुल स्वास्नीमान्छे दार्चेनबाट चौँरीलाई भारी बोकाएर आए। राजनारायणजीले चौँरीको फोटो खिच्नुभयो। त्यसपछि एउटी सेर्पिनीले हात उठाएर अलिअलि झुकेझैँ गरेर भनी– ‘टासिढेले।’
‘टासिढेले।’ राजनारायणजीले पनि त्यसै गर्नुभयो।
तिनीहरूले त्यसपछि मलाई हेरे। म हासेँ। उनीहरू पनि हाँसे मज्जाले। त्यसपछि मैले पनि अभिवादन गरेँ– ‘टासिढेले।’
हामी पुनः गेष्ट हाउसमै आइपुग्यौँ। पर्यटकहरूको तीन, चार वटा टोली आइपुगेको रहेछ। केही यूरोपेली र धेरै भारतीय पर्यटकले गेष्ट हाउस भरिएको थियो। हामीले बल्लबल्ल एउटा कोठा पायौँ, एक रातको लागि। एउटा बेडको एक रातको भाडा नेपालीहरूको लागि १५ सुकुर, भारतीयहरूलाई ३० सुकुर र अन्य देशहरू तथा यूरोपका पर्यटकलाई ६० सुकुर तोकिएको रहेछ। यसो हुनाले पनि हामीलाई गेष्ट हाउसमा ठाउँ पाउन अलि गाह्रो भएको रहेछ। तर हामी नेपाली मात्र नभएर पर्यटकहरू पनि थियौँ, पर्यटकहरूप्रति उनीहरूले गर्नुपर्ने आतिथ्यको कर्तव्य एकातिर थियो भने अर्कोतिर हामी केल्सङका साथी पनि थियौँ। संयोगले केल्सङ त्यहीँ आइपुग्नुभएको थियो। यति भइसकेपछि हामीलाई विशेष रूपले नै व्यवहार गरियो यहाँ। यहाँका सबै कर्मचारीहरू हाम्रा साथीहरू नै भए।
हामीले भिजेको ब्यागलाई घाम लाग्ने ठाउँमा राख्यौँ। आपूm पनि घाम तापेर बस्यौँ। हामीले लगाएको लुगा अहिलेसम्मा धेरै सुकिसकेको थियो। हामी घाम तापेर बसेपछि सुक्न बाँकी भाग पनि सुक्यो। बाँकी लुगा पनि सुकिसकेपछि ब्यागलाई कोठाभित्र लगेर राख्यौँ। थर्मसबाट तातो पानी झिकेर एक एक कप कफी बनाएर पियौँ र बाहिर निस्कियौँ।
क्यान्टिनमा भात पकाएको रहेछ। चार दिनपछि भातको बास्ना थाहा पाउँदा पनि त्यसै त्यसै आनन्द लागेर आयो। हामीले चार दिनपछि भात खाने अवसर पायौँ र कति दिनदेखिको बिस्कुट र चाउचाउ खानुपर्ने निरन्तर बाध्यताबाट मुक्त भयौँ।
हामीले रिजर्भ गरेको बस दुई दिनपछि मात्रै मात्रै फर्कन्थ्यो ताकलाकोट। हामीले, त्यसैले, भोलि एक दिन पनि कैलाशलाई सुम्पनुपर्ने भएको थियो। तर हामी सम्भव भएसम्म आफ्नो आयुको सबैभन्दा सानो अंश पनि यो ठाउँलाई सुम्पन चाहँदैनथ्यौँ। आजको रात चाहिँ हाम्रो बाध्यता थियो। भोलि चाहिँ कसै गरेर भए पनि यहाँबाट हिँडेर मानसरोवरमा रात बिताउने उपायको खोजिमा लाग्यौँ हामी। हिजोको सपनाजस्तो एक झप्को भेटघाट र एक नजरको सौन्दर्यपानमा हामीलाई रत्तिभर पनि चित्त बुझेको थिएन। हामी त सर्वाङ्ग र सम्पूर्ण मानसरोवरलाई छुन चाहन्थ्यौँ, अनुभव गर्न चाहन्थ्यौँ र नीलो पानीभरि आपूmलाई भेटिरहन चाहन्थ्यौँ। प्रत्येक ट्रक ड्राइभर र बस ड्राइभरलाई सोध्न थाल्यौँ। केल्सङलाई र हामी आएको बसको ड्राइभरलाई पनि हामीलाई मानसरोवर जान मद्दत गर्न आग्रह ग¥यौँ। बसको ड्राइभर हामीलाई पर्सि बिहान मानसरोवरबाट लैजान राजी भए। उनले र केल्सङले पनि कुनै न कुनै गाडीमा हामीलाई जेद्दीसम्म पठाइदिने कुरामा आश्वस्त पारेपछि हामी दार्चेनमा बाँकी रहेको काम गर्न थाल्यौँ।
राजनारायणजीले दुई, चार वटा पोष्टरहरू किन्नुभयो कैलाशको। त्यसपछि हामीले एउटा ग्यालेन किन्यौँ र माथि कैलाशको फेदीमा छङछङाइरहेको सफा पानी भर्यौँ त्यसमा। त्यसपछि दार्चेनको गाउँतिर घुम्न निस्कियौँ। हामीलाई देखेपछि भोटेहरू, भोटिनीहरू हामीसँग झुम्मिदै आउन थाले। उनीहरूमध्ये उनीहरूले लगाएका गहना देखाउँदै त्यो किन्नलाई अनुरोध गरे। कसैले कैलाशको ढुङ्गो देखाउँदै चिनोस्वरूप लैजान अनुरोध गरे। हामी चाहिँ अनेक तरहले उनीह, अलमल्याउँदै अघि बढिरह्यौँ। उनीहरूको व्यवहार र आग्रहले यहाँका मानिसहरूको आर्थिक अवस्था र जीवनस्तरको सङ्केत गथ्र्यो। त्यो त्यति बलियो लागेन हामीलाई।
मलाई एकपल्ट नेपालको सम्झना आयो। बसन्तपुर, मङ्गलबजार र भक्तपुर दरबारक्षेत्रमा घुमिरहेका पर्यटकहरूको सम्झना आयो। उनीहरूलाई यसरी नै पछ्याउँदै व्यापार गर्न खोजिरहेका मानिसहरूको चित्र मेरो मानसमा कोरियो एकपल्ट।
साँझ सुत्नुअघि हामीले शरीरभरि भिक्सले मालिस गर्यौँ। दिउँसोभरिको सबै चिसोलाई भगाएको भानमा परेर ढुक्क भयौँ।
भोलिपल्ट बिहान हामी सबेरै उठ्यौँ। हतारहतारमा हातमुख धोयौँ। सामानहरू ब्यागमा मिलाएर राख्यौँ र तयार भएर बाहिर निस्कियौँ। हामीभित्र केवल एउटै कुरा मात्र खेलिरहेको थियो– कुन गाडी कति बेला फर्कला यहाँबाट जेद्दीतिर। हामीले केल्सङलाई पनि भेट्यौँ। साथै, केही भारतीय पर्यटकहरूसँग पनि कुरा गर्यौँ।
आजको मौसम त्यति अनुकूल नभए पनि, घाम आकासमा रमाएर नखेले पनि हिमालका शिरहरू बादलले ढाकिरहेकै भए पनि हाम्रो लागि भने अनुकूल नै रहेछ। हाम्रो लागि केही खुशी र उत्साह बोकेकै रहेछ आजको दिनले। आजको यात्रा सुखद र आह्लादपूर्ण हुने भयो हाम्रो किनभने केही भारतीय पर्यटकहरूलाई लिएर एउटा बस पहिला होरे र त्यसपछि जेद्दी जाने भयो। हामीले पनि दुई जनाको पचास सुकुर अतिरिक्त भाडा तिर्यौँ र आफ्नो झोला राख्यौँ बसभित्र।
बस बिहान साढे ७ बजे दार्चेनबाट गुड्यो। हामी मानसरोवरको अतुलनीय सौन्दर्य, पवित्रता र स्निग्धतालाई हेर्न, छुन र पिउन पाउने सुखद क्षणको प्रतीक्षामा पलपल गरेर समयलाई आफूबाट फुत्काउँदै गयौँ। मैले एक पटक पछिल्तिर फर्केर हेरेँ कैलाशलाई र बिस्तारै गुनगुनाएँ– ‘ओम नमः शिवाय।’
बाटोमा पारका भन्ने ठाउँमा गाडी एकछिन रोकियो। एउटी अमेरिकी महिला बसमा चढिन् र हामीसँगैको अर्को सिटमा आएर बसिन्। बिस्तारै कुराका प्रसङ्गहरू चले। हामी दुई जना भारतीय नभएर नेपाली हौँ भन्ने थाहा पाएपछि उनी झन् खुशी भइन्। उनी काठमाडौँमा एक वर्ष बसेकी रहिछिन्। त्यसबेला उनले विश्वभाषा क्याम्पसमा तिब्बती भाषा पढेकी रहिछिन्। एलेना हो क्यार तिनको नाम। पेसाले अङ्ग्रेजीकी शिक्षिक। उनीसँगको कुराकानीले हामीलाई पनि बाटो काटेको पत्तै भएन र दिक्दारी तथा पट्यार जस्ता कुराहरूको आभाससम्म पनि पाइएन।
लगभग १० बजे बसले हामीलाई होरेमा पुर्यायो। होरे मानसरोवरको अर्को किनारमा अवस्थित एउटा ठाउँ। पर्यटकहरूका लागि यहाँ पनि गेष्टहाउस निर्माण गरिएको रहेछ। बस यही गेष्टहाउसको हाताभित्र आएर रोकियो। दार्चेनबाट आएका भारतीयहरू यहीँ रोकिने थिए र यहाँ भएका पर्यटकहरूलाई बोकेर बस जेद्दी जानेवाला थियो। यसको लागि केही समय त लाग्थ्यो नै। त्यसैले म पनि ओर्लिएँ बसबाट र यताउता हिँड्न थालेँ।
होरे आफैँमा एउटा सौन्दर्य रहेछ। बीचमा सम्म परेको जमिन रहेछ। यसको चारैतिर हिमालहरू रहेछन्। राति परेको हिउँले यी हिमालहरू छपक्कै छोपिएका थिए र अझ आकर्षक भएका थिए। पूर्वतिर चाहिँ होरेलाई नै छुन आइपुगेको मानसरोवर थियो। नीलो पानी, नीलो स्वच्छता र नीला भावनाहरू ! म मानसरोवर देख्ने बित्तिकै छताछुल्ल हुन थालेँ। आपूmभित्र उत्साह, रहर र अनुभूतिहरूका मसिना तरङ्गहरू एकै साथ भोग्न थालेँ। मौसम त्यति सफा थिएन, तर के भो र ? सौन्दर्य आफैँमा अनुपमता र आश्चर्यले भरिएको नाम हो। त्यो आश्चर्य र अनुपमता म अनुभव गरिरहेको थिएँ होरेमा बसेर। अहिले म उत्तेजित र विभोर भइरहेको थिएँ होरेमा बसेर।
हेर्दाहेर्दै मानसरोवरलाई बादलले छोप्यो र होरेबाट उतापट्टिका हिमालहरूमाथि घामको उज्यालो पोतियो। घामको स्पर्शमा उज्यालिएका हिमाल र हिउँहरू हेर्न थालेँ। तर, हेर्दाहेर्दै एकैछिनमा यी हिमालहरूलाई फेरि बादलले छोप्यो र घाम चाहिँ मानसरोवरभरि पोखिएर छरियो।
हेर्दाहेर्दै मानसरोवरलाई बादलले छोप्यो र होरेबाट उतापट्टिका हिमालहरूमाथि घामको उज्यालो पोतियो। घामको स्पर्शमा उज्यालिएका हिमाल र हिउँहरू हेर्न थालेँ। तर, हेर्दाहेर्दै एकैछिनमा यी हिमालहरूलाई फेरि बादलले छोप्यो र घाम चाहिँ मानसरोवरभरि पोखिएर छरियो। अचम्म लाग्यो मलाई घाम र बादलको यो लुकामारी, यो स्नेहपूर्ण खेल देखेर।
हामी केटाकेटी हुँदा यसरी नै खेल्थ्यौँ गाउँमा साथीसाथी मिलेर। ती दिनहरू हामीलाई आनन्द बाँड्थे, खुशी बाँड्थे र भोलिपर्सिका लागि सपनाहरू बाँड्थे– डाक्टर बन्ने, इन्जिनियर बन्ने, समाजमा प्रतिष्ठित मान्छे बन्ने इत्यादि। ती दिनहरू गाउँमा अहिले पनि होलान् र? हामीलाई सपना बाँड्ने तिन दिनहरू अहिले हाम्रा लागि सपना भएका थिए। म घाम र बादलको लुकामारी हेरिरहेको थिएँ, पानीले भिजाउन थाल्यो। म दौडँदै बसभित्र आएर बसेँ।
होरेमा मज्जाले पानी पर्यो।
११ बजे धेरै नयाँ अनुहारलाई बोकेर बस गुड्यो जेद्दीतिर। बाटामा मज्जाले घाम लाग्यो। अस्ति हामी आउँदाको दिन जति नभए पनि आज मौसम हिजोभन्दा त कति हो कति राम्रो र सफा थियो। बसभित्र गफका प्रसङ्गहरू चलिरहे। म पनि बसभित्रका गतिविधिहरूमा सक्रिय भएर सहभागी भएँ। यात्रामा हिँडेपछि कुनै पनि क्षणलाई आफ्नो हुनबाट फुत्काउनु हुँदैन। समयलाई फुत्काउँदै र खेर फाल्दै गइयो भने यात्राको पूर्णता अपूरै रहन्छ र आफू ठगिन पुगिन्छ बाँच्ने एवं अनुभूतिका तहहरूबाट माथि उठ्ने कुरामा भन्ने मेरो आफ्नो धारणा छ। फेरि जेद्दीसम्म नपुगुन्जेल बाटामा लाग्ने दिक्दारीलाई भगाउनु पनि त थियो नि। म बसमा गुजराती सहयात्राीहरूसँग कुराकानी र हाँसो ठट्टामा व्यस्त भइरहेँ। बीचबीचमा राजनारायणजीले पनि मलाई साथ दिइरहनुभयो।
मैले पछाडि फर्केर बसको झ्यालबाट कैलाशलाई एकपल्ट फेरि हेरेँ। अझै बादलले छोपिरहेको रहेछ कैलाशलाई र पर्यटकहरूका आँखा र मनभरि उदासीको दुःखी रङ भरिरहेको रहेछ।
हामी सढे १ बजे जेद्दी आइपुग्यौँ। मानसरोवर! ए नीलो प्रकृति!! हामी आइपुग्यौँ तानिएर तिम्रो मोहनीले। हामी आइपुग्यौँ लोभिएर तिम्रो सौम्यता र हार्दिकताले। हारेर तिम्रो सौन्दर्यसँग, रूपसँग हामी आइपुग्यौँ ए नीलो पानीको दह, मानसरोवर!
सामानहरूलाई गेष्टहाउसको कोठामा राखेपछि राजनारायणजी र म हातमा बाइनाकुलर, क्यामरा र एउटा डायरी बोकेर दौडियौँ मानसरोवरकै नीलो पानीभरि हराउन। मानसरोवरको किनारैकिनार हामी निकै पर गयौँ र प्रकृतिको अपार सौन्दर्यपान गर्न थाल्यौँ। बाइनाकुलरको सहायताले पानीमा हेर्दा अहो ! विचित्रका चित्रहरू बनेको देखिँदो रहेछ मसिना तरङ्गहरूको गतिको कारणले। मैले धेरै बेरसम्म यसरी नै हेरिरहेँ यो दृश्यलाई। त्यसपछि नाङ्गो आँखाले हेर्न थालेँ पानीमाथि। हावाले बिस्तारैबिस्तारै लहरहरू उठाउँथ्यो पानीमाथि र बगाउँथ्यो बिस्तारै। यी मसिना लहरहरू बग्दै आएर किनारमा एकनासले ठोकिइरहँदा आउने आवाज अनौठो र कर्णप्रिय सङ्गीत बन्दथ्यो। त्यो गुञ्जन्थ्यो आन्दोलित बनाएर मान्छेका भावनाहरूलाई भताभुङ्ग पारिदिएर एकाग्रतालाई। म किनारमा बसेर यिनै मसिना लहरहरूसँग लहरिन थालेँ। मैले डायरीमा लेखेँ केही आफ्ना भावनाहरूलाई–
छालहरू, ओ छालहरू
आएर मलाई भिजाएर जाओ
म किनारमा उभिएको छु ...
थकित छु, उदास छु
मनभरि पीरहरूले भरिएको छु
छालहरू, ओ छालहरू
आएर दुःख बगाएर जाऊ
म किनारमा उभिएको छु ...
हाँसहरू आज पनि पानीमाथि बगिरहेका थिए। हाँसहरू आज पनि खेलिरहेका थिए, नीलो रङसँग, सौन्दर्यसँग। हाँसहरू आज पनि डुबिरहेका थिए आनन्दको चरमोत्कर्षमा। तर आज पनि रजहाँसहरू देखिएनन्। आज पनि रजहाँसहरू बगेनन् लहरलहरमा मानसरोवरको र सौन्दर्यको अर्को तह बनेनन् रजहाँसहरू।
राजनारायणजी पनि एक छिनसम्म त फोटोहरू खिचिरहनुभएको थियो, बाइनाकुलरबाट दृश्यहरू हेरिरहनुभएको थियो, तर एक छिनपछि त सबै काम छोडेर किनारको रोडा र बालुवामाथि लमतन्न परेर पल्टिनुभयो आँखा चिम्लेर। मैले एक छिनसम्म उहाँलाई हेरिरहेँ। उहाँको अनुहारमा सन्तोषको रङहरू रमाइला चढेका थिए। सौन्दर्यलाई आत्मसात गरिसकेपछिको गम्भीरता उहाँको अनुहारमा खुलेको थियो। आनन्दको यो सर्वोच्चता मैले उहाँमा कहिल्यै देखेको थिइनँ। प्रकृतिको रूपको मादकता र मोहनीले छोइँदा मान्छे यतिसम्म मदहोस बन्दो रहेछ, मैले देखेको थिइनँ। मैले क्यामरा उठाएँ र यो क्षणको जीवन्त चित्र क्यामराभित्र सुटुक्कसँग राखेँ। उहाँ आनन्दको जादूगरीपूर्ण र चमत्कारी संसारमा हराइरहनुभएकै थियो, अनुभूतिको अथाह गहिराइमा डुबिरहनुभएकै थियो, म चाहिँ अलि पर बसेर पारिपट्टिका हिमालहरू हेर्न थालेँ।
हिमालहरूलाई पातलो बादलको पर्दाले छेकेको थियो। त्यसैले तिनीहरूको रूपमो उज्ज्वलता, मुस्कानको यौवन त्यति पहिल्याउन सकिनँ। म उठेँ र सरोवरभित्र गएर पानी खेलाउन थालेँ। हातमुख धुन थालेँ। आम्मामा! कहाँ सकिन्थ्यो र पानी खेलाइरहन! पानी यति चिसो थियो कि जमेर शीला पो होइन्छ कि जस्तो लाग्यो। म एकैछिनपछि बाहिर निस्किएँ र तौलियाले हातमुख पुछेर किनारमै बसिरहेँ घाम तापेर।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।