काठमाडौं– निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले पुनः सेवा सुरु गर्ने भएको छ। १ अर्ब रुपैयाँभन्दा बढीको लगानीसहित पाँच वटा जहाज थपेको गुण एयरलाइन्सले आज (शुक्रवार)देखि औपचारिक रूपमा आफ्नै ब्रान्डबाट नियमित उडान सुरू गर्न लागेको छ।
सन् २००९ मा स्थापना भएको गुण एयरलाइन्स सन् २०१३ मा सिम्रिक एयरलाइन्सले एक्वायर गरेको थियो। लामो समयको तयारीपछि लगानी विस्तार गरी आफ्नै ब्रान्डमा उडान सुरु गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिके श्रेष्ठले बताए।
आज कम्पनीले काठमाडौं–भरतपुर र काठमाडौं–पोखरा गरी दुई वटा गन्तव्यमा उडान गर्न लागेको उनले जानकारी दिए।
सिम्रिक एयरबाट चारओटा जहाजले उडान गर्दै आएका थिए। त्यसमध्ये अहिले दुई जहाज गुणकै नाममा आएको उनको भनाइ छ। कम्पनीसँग अहिले जेटस्ट्रिमका ५ र बिचक्राफ्टका दुई जहाज छन्।
पाँचओटा जहाज किनेर पुरानै ब्रान्डमा फर्किएको गुण एयरलाइन्सले काठमाडौं बेस बनाएर दसैंअघि नै क्रमशः ट्रंक रूटमा सेवा विस्तार गर्ने योजना राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।