काठमाडौं– भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले तिहारपछि मात्र भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने भएको छ। महामारीको जोखिम कायमै रहेको अवस्थामा हतारिएर विद्यालय सञ्चालन नगर्न नगर प्रमुख मदनसुन्दर श्रेष्ठले प्याब्सनलाई आग्रह गरेका हुन्।
निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मध्यपुर नगर समितिको बिहीबार सम्पन्न दोस्रो अधिवेशनमा प्रमुख श्रेष्ठले अरु जिल्लामा विद्यालय खुले भन्दै हतारिएर विद्यालय खोले पछुताउनुपर्ने बताएका हुन्।
अठार वर्षमाथि उमेरकाले कोभिडविरुद्धको भ्याक्सिन लगाए पनि १८ वर्षमुनिका बालबालिकामा तेस्रो लहरको जोखिम कायमै रहेको भन्दै उनले मध्यपुर ठिमी नगरपालिकाले उपत्यकाका १८ वटा नगरपालिकाभन्दा पछि अन्तिममा मात्रै विद्यालय खोल्ने अनुमति दिने बताए।
चाडपर्वमा हुने जमघटले कोभिडको जोखिम थप बढाउने भन्दै उनले दसैँपछाडि विद्यालय सञ्चालनका लागि पूर्वाधारको तयारी गर्ने र कोभिड महामारीको अवस्था हेरेर तिहारपछि मात्रै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरिने बताए।
अहिले विद्यालयले पनि नाफा घाटा हेर्ने समय नभएको भन्दै उनले कोभिड भाइरसले कसैलाई पनि नचिन्ने भएकाले भोलि हुने क्षतिलाई रोक्न आजै सचेत हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमाल, प्याब्सन केन्द्रीय सचिव भुवनलाल श्रेष्ठ, केन्द्रीय सह कोषाध्यक्ष गणेशबाबु पोखरेल, प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष चन्द्र अधिकारीलगायतले भने मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्ने बताएका थिए।
अधिवेशनले निलेश आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा शङ्करकर्ण कायस्थ, सचिवमा रत्नमान शङ्खदेव, कोषाध्यक्षमा सुमन बस्नेत तथा सदस्यमा आशाहरि प्रजापति, बुद्ध बाँडे, मनोज दीक्षित आचार्य, कृष्णहरि धवा श्रेष्ठ र अनिता श्रेष्ठलाई चयन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।