काठमाडौं- अहिले बलिउड अभिनेत्री मल्लिका शेरावत आफ्नो आउँदै गरेको वेब सिरिज ‘नकाब’का कारण चर्चामा छिन्। हालसालै उनले एक अन्तर्वार्तामा आफूले अभिनय क्षेत्रमा लाग्दा आफ्नो नैतिक मूल्य मान्यताको सम्झौता नगरेको बताएकी छिन्। सोही अन्तर्वार्तामा उनले बलिउडमा हुने ‘कास्टिङ काउच’को विषयमा पनि बोलेकी छिन्।
शेरावतले आफूले पनि केही मात्रामा कास्टिङ काउचको समस्या भोग्नु परेको बताएकी छिन्। उनले स्क्रिनमा गरेका कुराहरुलाई लिएर वास्तविक जीवनमा पनि आफूसँग सम्बन्ध राख्न खोज्ने थुप्रैको 'प्रस्ताव'लाई अस्वीकार गर्दा आफूलाई काम गरिरहेको प्रोजेक्टबाटै निकालिदिएको सम्झिएकी छिन्।
‘पुरुष आफ्नो फाइदा निकाल्ने सोच्छन्,’ उनले भनेकी छिन्, ‘स्क्रिनमा सजिलैसँग गरेको कुरा वास्तविक जीवनमा किन गर्न नखोजेको भन्दै म संलग्न थुप्रै प्रोजेक्ट मेरो हातबाट छुटेको छ। प्राइभेट रुपमा उनीहरुसँग सम्बन्ध बनाएन भनेर कामबाट निकालेका छन्।’
फिल्म क्षेत्रमा महिलालाई यस्तो व्यवहार गरिनुमा हाम्रो समाजकै मानसिकता यस्तो हुनु मुख्य कारण रहेको शेरावतले बताएकी छिन्। उनले भनिन्, ‘सबै हाम्रो समाजकै प्रतिबिम्ब हो। पुरुषले महिलालाई कुन रुपमा सोच्छन् भन्ने कुरा नै हामीले फिल्म क्षेत्रमा पनि भोग्नु परेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।