पछिल्लो दश वर्ष अर्जेन्टिनाका फरवार्ड लिओनल मेसी र पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोबीच फिफा वर्ष खेलाडीमा प्रतिस्पर्धा भइरहेको छ। दुवैले ५–५ पटक फिफा वर्ष खेलाडी उपाधि जित्दै आफु उत्कृष्ट भएको प्रमाणित गरिसकेका छन्। अहिलेको अवस्थामा वर्षको फिफा वर्ष खेलाडीमा पनि मेसी र रोनाल्डोबीच नै प्रतिस्पर्धा हुने देखिन्छ। यद्यपी आगामी बिहीबारदेखि रसियामा सुरु हुने २१ औं संस्करणको विश्वकपमा उत्कृष्ट खेल्ने खेलाडीले अवार्डमा मेसी र रोनाल्डोलाई टक्कर दिन सक्नेछन्। फिफाले विश्वकपमा चलेर वर्ष खेलाडीमा मेसी र रोनाल्डोलाई टक्कर दिन सक्ने पाँच खेलाडीको नाम सार्वजनिक पनि गरेको छ।
द क्राउन प्रिन्स : नेइमार (ब्राजिल)

'स्टाइलिस्ट' आक्रामक फरवार्ड नेइमार गत सिजनमा विश्वकै महँगा खेलाडी बनेका थिए। उनलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्पेनिस क्लब बार्सिलोनाबाट भित्राएको थियो। उनलाई अहिले मेसी र रोनाल्डोसँग तुलना गर्ने गरिन्छ। सशक्त ड्रबलिङ तथा चतुरता उनको राम्रो पक्ष हो। फिनिसिङ पक्ष पनि नेइमारको लोभलाग्दो छ। नेइमारसँग विश्वका उत्कृष्ट खेलाडीमा हुनु पर्ने सवै गुण छ।
सन् २०१४ को विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको ब्राजिललाई नेइमारले २ वर्षपछि ओलम्पिक खेलमा स्वर्ण दिलाए। जुन पाँच पटकको विश्व विजेता ब्राजिलले ओलम्पिकको फुटबल जितेको पहिलो स्वर्ण हो। अब नेइमार सामु ब्राजिललाई विश्वकपको उपाधि जिताउने अर्को अवसर छ। जसले उनलाई फिफा वर्ष खेलाडी बन्न फाइदा पुग्नेछ।
द सुटिङ स्टार : मोहमद सलाह (इजिप्ट)
जुन २०१७ मा इटालियन क्लब रोमाबाट इंग्लिस क्लब लिभरपुलमा आबद्ध भएपछि इजिप्टका विंगर मोहमद सलाह चर्चामा आए। किनकी उनले सिजनको सुरुवातदेखि नै लोभलाग्दो खेल देखाएका थिए। तीव्र गतिमा बल कुदाउने सलाहको फिनिसिङ गर्ने क्षमता गज्जबको छ। यो सिजन प्रिमियर लिगको सर्वाधिक गोलकर्ता भनेसँगै सहाल चर्चित बन्न पुगे।

इजिप्टले २८ वर्षपछि विश्वकपमा स्थान बनाउदा सलाहको प्रदर्शन उच्च थियो। उनले अन्तिम खेलमा गोल गरेपछि इजिप्ट विश्वकपमा छानिएको थियो। च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका सलाह पहिलो खेलमा मैदान उत्रने बताइएको छ। यदि उनले विश्वकपमा आफ्नो फर्मलाई निरन्तरता दिन सके इजिप्ट र उनले विश्व फुटबलमा तहल्का मच्चाउन सक्छन्।
द एसिस्ट किङ : केभिन डे ब्रुइन ( बेल्जियम)
बेल्जियमका मिडफिल्डर ब्रुइनमा प्लेमेकरमा हुने सवै गुण छ। मिडफिल्डमा पुतली झै बल कुदार पास उपलब्ध गराउने उनको शैली गज्बजको छ। गत वर्ष उनी फिफाको उत्कृष्ट खेलाडीको प्रारम्भिक सूचीमा परेका थिए।

यो सिजन ब्रुइनले म्यानचेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनाउन सानदार प्रदरशन गरे। उच्च श्रेणीको पास मिलाउने ब्रुइनले २०१८ विश्वकपमा बेल्जियमका लागि पनि राम्रो खेल्ने विश्वास गरिएको छ। विश्वकपमा बेल्जियमको यात्रालाई अघि बढाउन योगदान दिन सके ब्रुइनले यो वर्ष फिफा वर्ष खेलाडी अवार्ड अन्य खेलाडीलाई टक्कर दिने पक्का छ।
द मस्टर अफ अन्डरस्टिमेट : ह्यारी केन (इंग्ल्यान्ड)

ह्यारी केन पछिल्लो पुस्ताका उत्कृष्ट इंग्लिस स्ट्राइकर हुन्। एलन सेएररपछि उनी इंग्ल्यान्डबाट खेल्ने विश्वस्तरिय खेलाडी भएको फुटबल पण्डितको विश्लेषण छ। २४ वर्षीय केन समझदार र परिश्रमी छन्। उनको बलियो पक्ष स्थान र समय मिलाएर बल प्रहार गर्न सक्नु हो। खेललाई तत्काल बुझ्न सक्ने र हेडिङबाट लोभलाग्दा गोल गर्ने केनले गत सिजन टोटनह्यामबाट लोभलाग्दो खेल पस्के। रसिया उड्नुअघि इंग्ल्यान्डका प्रशिक्षकले कप्तान केनलाई नेइमारसँग तुलना गरेका छन्।
द योङ प्रोडिजी : केलियन एमबाप्पे (फ्रान्स)

१९ वर्षीय एमबाप्पेलाई वर्तमान पुस्ताका अद्भुत कला भएका युवा खेलाडी मानिन्छ। उनले २०१८ मात्र होइन आगामी केहि वर्षसम्म विश्व फुटबलमा तहल्का मच्चाउने फिफाको विश्लेषण छ। एक वर्षअघि उनले मोनाकोबाट उत्कृष्ट खेल्दै सवैको ध्यान खिँचेका थिए। हाल पिएसजीमा आवद्ध उनले सिजनमा पनि उत्कृष्ट खेल पस्के। २०१८ विश्वकपमा एमबाप्पले फ्रान्सलाई अघि बढ्न योगदान दिन सके युवा अवस्थामै वर्ष खेलाडीमा आफ्नो दाबेदारी प्रस्तुत गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।