काठमाडौं– विशेष अदालतले भूकम्पपीडितका लागि पाल खरिदमा भ्रष्टाचार गरेको आरोप लागेका काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख पूर्णभक्त तण्डुकारसहित ६ जनालाई सफाइ दिएको छ।
महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख तण्डुकारका साथै विभागीय प्रमुख शान्तराम पोखरेल, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर, प्रशासन महाशाखा प्रमुख बखतबहादुर साउद, क्षितिज ट्रेड इन्टरनेसनलका प्रोपाइटर नन्दराज पोखरेल र न्यू चौधरी ट्रेडर्सका प्रोपाइटर सुन्दरलाल चौधरीलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले आइतबार सफाइ दिएको हो।
न्यायाधीशहरु बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४८ लाख बराबर बिगो दाबी गर्दै उनीहरु विरुद्ध २०७२ चैत २६ गते मुद्दा दायर गरेको थियो। त्रिपाल खरिद गर्दा उनीहरुले न्यून गुणस्तर र सानो आकारका त्रिपाललाई मूल्य बढाएर भुक्तानी गरेको अख्तियारको दाबी थियो।
महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख तण्डुकार, विभागीय प्रमुख पोखरेल, वित्त विभागका बुद्धरन्त मानन्धर तथा प्रशासन महाशाखा प्रमुख साउदमाथि जनही २४ लाख १० हजार २ सय १४ रुपैयाँ बिगो दाबी गरिएको थियो। यस्तै, चौधरीबाट २१ लाख १८ हजार ८ सय ९० र पोखरेलबाट २ लाख ९१ हजार ३ सय २३ रुपैयाँ बिगो दाबी गरिएको थियो।
तर, विशेषले कम गुणस्तरको पाल खरिद गरी घोटाला गरेको पुष्टि हुन नसकेको भन्दै उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।