नेपालगन्ज– रोल्पा, रुकुमका पहाडी क्षेत्रमा लागूऔषध अफिम उत्पादन गरी लुकाईछिपाई भारततर्फ लैजाने तस्करहरुको समूह सक्रिय हुन थालेको छ।
एक साताको अवधिमा सीमावर्ती भारतीय बजारमा पुर्याउने लागूऔषध तस्करीमा संलग्न २ वटा समूहलाई नेपाल प्रहरीको ५ नम्बर प्रदेश अनुसन्धान ब्युरोले पक्राउ गरी कारबाही सुरु गरेको छ।
यसै क्रममा नेपालगन्जबाट साढे ६ किलो अफिमसहित ३ जना पक्राउ परेका छन्। नेपालगन्जको पुष्पलाल चौक नजिकैको दैलेखी जय होटलबाट प्रहरीले रुकुम सिस्नेका भुपेश खड्का, बलबहादुर खड्का र मनबहादुर खत्रीलाई पक्राउ गरेको हो। पक्राउ परेका खत्री सिस्ने गाउँपालिकाका वडा नम्बर ३ का निर्वाचित वडा अध्यक्ष हुन्। रुकुमबाट अफिम ल्याएर नेपालगन्ज हुँदै भारतीय क्षेत्रमा लैजाने तयारी गरिरहेका बेला उनीहरु पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरी अभियुक्तहरुलाई सार्वजनिक गरेको हो। रुकुममा प्रतिकिलो एक लाख रुपैयाँमा किनेको अफिम नेपालगन्जमा प्रतिकिलो ५ लाखमा बेच्ने क्रममा पक्राउ परेको अभियुक्तहरुले बताएका छन्।
यसअघि अनुसन्धान ब्युरोले जेठ २० मा दाङको घोराहीबाट ५ किलो २ ग्राम अफिमसहित रोल्पाको परिवर्तन गाउँपालिकाका शक्तिराम बली र रुकुमको भुमे गाउँपालिकाका ऐलन रोका र देवबहादुर बलीलाई पक्राउ गरेको थियो।
अभियुक्तहरुमाथि लागेको अभियोग प्रमाणित भएमा १५ वर्षदेखि जन्मकैदसम्म र ५ देखि २५ लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।