काठमाडौं– कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सुरु भएको छ। कोरोना भाइरसको जोखिमका कारण दुई पटक स्थगित भइसकेको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरुको भौतिक उपस्थितिमै बुधबारदेखि सुरु गरेको हो।
देशभर ४ हजार ३१५ वटा परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षा असोज ८ गतेसम्म चल्नेछ। परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गराएर मात्रै कक्षाकोठामा प्रवेश गर्न दिइएको रत्नराज्य क्याम्पसका निमित्त प्रधानाध्यापक रामाशीष यादवले बताए।
उनले हरेक विद्यार्थीहरुलाई तीन मिटरको दूरी कायम गराएर परीक्षा सञ्चालन गराइएको दाबी गरे। त्यस्तै, विजय स्मारक माध्यामिक विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्माले हरेक विद्यार्थीहरुको ज्वरोको परीक्षण गरेर मात्रै कक्षाकोठामा प्रवेश गराइएको बताए। उनले कोरोनाको जोखिमबाट बच्नका लागि प्रत्येक विद्यार्थीहरुलाई मास्क र स्यानिटाइजर अनिवार्य गरेको बताए।
कोरोना भाइरसको जोखिमका कारण जेठ २६ देखि असार ४ र साउन ३१ देखि भदौ ९ गतेसम्म दुई पटक कक्षा १२ को परीक्षा स्थागित भएको थियो। बुधबारदेखि देशभरका करिब पौने ४ लाख विद्यार्थीहरुले परीक्षा दिन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
थप तस्बिर :




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।