काठमाडौं– राष्ट्रियसभा नियमावली–२०७५ आइतबार पारित भएको छ। रााष्ट्रियसभाको आइतबार बसेको बैठकले राष्ट्रियसभा नियमावली–२०७५ सर्वसम्मतिले पारित गरेको हो।
बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले सो नियमावली पारित गरियोस् भनि प्रस्ताव राखेका थिए। सो प्रस्ताव राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ पेश गरेलगत्तै सर्वसम्मतिले पारित गरिएको हो।
फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहरुलाई निलम्बन नगर्ने पक्षमा सबै दलको सहमति भएपछि नियमावली सर्वसम्मतिले पारित भएको हो। नियमावलीमा फौजदारी अभियोग लागेका सांसदहरुको सेवा, सुविधा भने कटौति हुने स्पष्ट पारिएको छ।
नियमावलीमा फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहरुलाई संघीय कानुन बनाएर कारबाही गर्ने व्यवस्था गरिएको नियमावली मस्यौदा समितिका सभापति गुरुङले बताए। उनले फौजदारी अभियोग लागेका सांसदहरुलाई कारबाही गर्ने व्यवस्था कानुनमै उल्लेख गर्न उपयुक्त हुने कुरामा संसदमा सहमति जुटेको पनि स्पष्ट पारे।
नियमावलीमा ४ वटा समिति रहने व्यवस्था गरिएको छ। संसदमा सरकारलाई जवाफदेही बनाउन प्रधानमन्त्री र मन्त्रीहरुले अनिवार्य जवाफ दिने बाध्यात्मक व्यवस्था पनि गरिएको छ। नियमावलीमा समितिको नेतृत्वमा ३३ प्रतिशत महिला अनिवार्य रहने उल्लेख छ।
बैठकमा विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभालाई सहमतिमै अघि बढाउन नियमावली पनि सर्वसम्मतिले पारित गर्नु परेको बताएका थिए।
राष्ट्रियसभाको अर्को बैठक आगामी असार ३ गते आइतबार ११ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।