काठमाडौं– नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानमा व्यवस्था गरिएको शिक्षा र स्वास्थ्यसम्बन्धि मौलिक हकलाई लागू गराउन तत्काल कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
संयोजक भट्टराईले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसको कार्यान्यवनका लागि आवश्यक कानुन निर्माण गर्न सरकारलाई आग्रह गरेका हुन्।
उनले विद्यार्थी संगठनहरुलाई शिक्षा र स्वास्थ्यसम्बन्धि मौलिक हकलाई लागू गराउन दबाव आन्दोलन सुरु गर्न पनि आह्वान गरे। आइतबार काठमाडौंमा आयोजित ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले आगामी असोज ३ गते भित्र संविधानमा व्यवस्था गरिएका सबै मौलिक हकलाई लागू गराउन कानुन बनाइसक्नु पर्ने भएपनि सरकार गम्भीर नभएको आरोप लगाए।
संयोजक भट्टराईले विद्यालय शिक्षालाई निःशुल्क र उच्च शिक्षामा आवश्यक छात्रवृत्तिको व्यवस्था गर्न पनि सरकारलाई दबाव दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरे। उनले वर्तमान सरकारले हुने खानेकै पक्षमा शैक्षिक नीति लिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।