सिंगापुर– उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन सिंगापुर पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार हुने भनिएको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुन नेता किम आज सिंगापुर पुगेका हुन्।
सिंगापुरस्थित चान्गी अन्तर्राष्ट्रिय विमानस्थलमा नेता किमलाई सिंगापुरका विदेश मन्त्री भिभियन बाकृस्ननले स्वागत गरेका थिए।
दुई राष्ट्रप्रमुखबीचको ऐतिहासिक बैठक सेन्तोसा द्विपको सुविधासम्पन्न पाँचतारे होटल कापेलामा हुने तय भएको छ।

कुनै पनि उत्तर कोरियाली प्रमुख नेताले अमेरिकी राष्ट्रपतिलाई भेट्न लागेको यो नै पहिलो अवसर हुनेछ। नेता किमसँगको भेटअघि राष्ट्रपति ट्रम्पले शिखर वार्तालाई ‘शान्तिका लागि एकमात्र कदम’ भएको बताएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्प आज अबेर मात्रै सिंगापुर पुग्नेछन्।

शिखर वार्ताले उत्तर कोरियाको आणविक कार्यक्रम तथा क्षेप्यास्त्र परिक्षणलाई समाप्त गर्न निश्चित प्रक्रियाको सुरुवात गर्नेमा अमेरिका आशावादी रहेको छ।
पछिल्लो १८ महिनादेखि रहँदै आएको तनाव तथा आरोप–प्रत्यारोपलाई पन्छ्याउँदै दुवै नेता ऐतिहासिक भेटवार्ताका लागि आमने–सामने हुँदैछन्। शिखर वार्ताअघि दुवै नेताले सिंगापुरका प्रधानमन्त्री लि सिन लोङलाई भेट गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।