काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले चर्चित लोकगायिका विष्णु माझीबारे चासो देखाएको छ। हजारौं गीत गाएर पनि ‘गुमनाम’ जीवन बिताइरहेकी भनिएकी माझीको पछिल्लो गीत 'चरी जेलैमा’ चर्चित भएपछि उनको अवस्थाबारे बहस नै सिर्जना भएको थियो।
उनको ‘गुमनाम’ अवस्थालाई लिएर सामाजिक सञ्जालमा पनि विभिन्न टिप्पणी भइरहेका छन्। यसबीच आयोगले उनको अवस्थाबारे बुझ्न चासो देखाएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताए।
आयोगले आइतबार विष्णु माझीको माइती जिल्ला स्याङ्जास्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुलाई पत्राचार गरी उनको अवस्था बुझ्न भनेको थियो। आयोगका प्रवक्ता पोखरेलले सामाजिक सञ्जालमा विष्णु माझीको अवस्था सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेकाले आफूहरुले उनको परिवारसँग बुझ्ने प्रयास गरेको बताए ।
आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा स्थाानीय प्रहरी टोली पठाएका थिए। तर, घरमा कोही पनि नभेटिएको स्याङजा प्रहरी प्रमुख, एसपी होबिन्द्र बोगटीले बताए। उनका अनुसार विष्णुका बाबुआमाको मृत्यु भइसकेको छ भने दाजु वैदेशिक रोजगारमा छन्।
आयोगका प्रवक्ता पोखरेलले पीडितले उजुरी नगरेसम्म अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाउन नमिल्ने बताए। उनले भने, 'स्वयम् व्यक्तिले म पीडित छु भनेर उजुरी दिएमा हामी अनुसन्धान अघि बढाउन सक्छौं।'
तीज विशेष भन्दै माझीले गाएको 'चरी जेलैमा' गीतले पछिल्लो समय चर्चा मात्रै नभएर उनको नीजी जीवन सार्वजनिक हुनुपर्ने बहस पनि सृजना गरेको छ। धेरैले गीत उनकै जीवनको व्यथा भएको तर्क गरेका छन्। माझीले गाएको उक्त गीतलाई उनकै श्रीमान सुन्दरमणि अधिकारीले लेखनसँगै संगीत संयोजन गरेका हुन्।
यसअघि पनि विष्णुबारे यस्तै चासो भएपछि स्याङजा प्रहरीले उनीहरूलाई बोलाएको थियो। जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी माझीले आफू आफ्नै स्वेच्छाले ‘गुमनाम’ जीवन बिताइरहेको बताएकी थिइन्। त्यसको यो 'केस' यत्तिकै सेलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।