काठमाडौं– नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले प्रतिनिधिसभामा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान भएकाले त्यसलाई पालना गर्न आग्रह गरेकी छिन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै भुसालले विधिको शासनबाट सरकार चल्न नसकेको भन्दै ध्यानाकर्षण पनि गराइन्।
'सरकारमा भएको भन्दा फरक दल सभामुख वा उपसभामुखको कुर्सीमा बस्यो भने मात्रै संसदीय अभ्यासको, शक्ति सन्तुलनको अभ्यास मीठो ढंगबाट अघि बढ्न सक्नेछ', भुसालले भनिन्।
तात्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमाले एउटै दल बनिसकेको अवस्थामा सभामुख र उपसभामुख पद सत्तारुढ दलले मात्रै राख्न नमिल्ने तर्क भुसालको थियो।
संविधानको धारा ९१ को उपधारा २ ले प्रतिनिधिसभामा सभामुख र उपसभामुख फरक-फरक दलबाट र महिला र पुरुष हुनुपर्ने व्यवस्था गरेको तथा राजनीतिक दल सम्बन्धी कानुनको धारा ३३ को १ क मा प्रतिनिधिसभामा सभामुख र उपसभामुखले दल त्याग गरेको मानिने छैन भन्ने लेखिएको भन्दै उनले संविधानमा लेखिएका कुरालाई कार्यान्वयन गर्दै संसदीय मान्यतालाई कायम राख्न सभामुखको ध्यानाकर्षण गराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।