काठमाडौं- अभिनेता सरोज खनालको अभिनय तथा गायक मदन कृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘जीवनको पाना’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनको गीत सार्वजनिक भएको हो।
केन्द्र मोसन पिक्चर्स तथा राजेन्द्र वाग्लेको संयुक्त प्रस्तुतिको रुपमा गीत सार्वजनिक भएको हो। बमकुमार श्रेष्ठको शब्द रहेको गीतमा संगीत सन्तोष श्रेष्ठले दिएका छन्। त्यस्तै, यसको एरेन्ज देवेन्द्र नेवाले गरेका छन्।
सरोज खनालको एकल अभिनयमा सार्वजनिक भएको गीतको भिडियोमा आफ्नो जीवनको उत्तरार्धमा पुगेको कलाकारको मनोविज्ञान र उसले भाग्ने नियतीलाई प्रस्तुत गरिएको छ। आफ्नो विगत सम्झिएर एक्लोपनले पिरोलिएको कलाकारको रुपमा भिडियोमा खनाललाई देख्न सकिन्छ।
खनालकै परिकल्पना रहेको गीतको भिडियोलाई राज केसीले निर्देशन गरेका हुन्। भिडियोको सुरुवातमा प्रयोग भएको कविता भने रमण घिमिरेको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।