काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमडौं– नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौं–नयाँ दिल्ली गन्तव्यमा सातामा १० उडान हुनेछन्।
तालिका अनुसार नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने एयर इण्डियाले यो रुटमा साताका तीन दिन (आइतबार, मङ्गलबार र शुक्रबार) उडान अनुमति पाएको छ।
एयर बबल सम्झौताअनुसार यसअघि नयाँ दिल्ली गन्तव्यमा सातामा तीन उडानमात्र हुँदै आएका थिए। बन्दाबन्दीपछि सुरुमा सातामा एक र दुई उडान गर्दै आएकामा अहिले एयर बबलअनुरुप नै दैनिक उडान तालिका बनाइएको हो।
नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेशनलमा हरेक दिन एक उडान गर्नेछ भने दुबई इन्टरनेशनल एयरपोर्टबाट सातामा चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान गर्ने तालिका छ। उक्त एयरलाइन्सले क्वालालाम्पुरमा सातामा चार उडान गर्नेछ।
जापानको नारितामा नेपाल एयरलाइन्सले हरेक बिहीबार उडान गर्नेछ भने हङकङका लागि हरेक मंगलबार उडान हुनेछ।
यसैगरी नयाँ तालिका अनुसार एयर अरेबियाले हरेक दिन काठमाडौं गन्तव्यमा दुई उडान गर्ने अनुमति पाएको छ। यस्तै फ्लाई दुबईले काठमाडौंका लागि सातामा १० उडान गर्नेछ।
नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा साताको छ उडान सञ्चालनको अनुमति पाएको छ भने दुबईका लागि साताको छ उडानको अनुमति पाएको छ। त्यसैगरी कतारका लागि हिमालयको जहाजले सातामा सात उडानको अनुमति पाएको छ।
जजिरा एयरवेजले काठमाडौंका लागि हरेक दिन उडान गर्नेछ भने कोरियन एयरले साताको एक दिन (बुधबार) काठमाडौं उडान गर्नेछ। मालिन्दो एयरको जहाजले क्वालालाम्पुरबाट साताका चार (सोमबार, बुधबार, शुक्रबार र शनिबार) उडान गर्नेछ भने मलेसिया एयरलाइन्स हरेक शनिबार क्वालालम्पुरबाट काठमाडौं आउने क्यानले जारी गरेको उडान तालिकामा उल्लेख छ।
त्यसैगरी कतार एयरवेजले कतारको हमाद इन्टरनेशनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ। सलाम एयरले मस्कट विमानस्थलबाट साताको तीन दिन काठमाडौंका लागि अनुमति पाएको छ भने टर्किस एयरले साताका तीन दिन (सोमबार, बिहीबार र शनिबार) काठमाडौंमा उडान गर्नेछ।
सिंगापुर एयरलाइन्सले हरेक आइतबार र श्रीलंकन एयरलाइन्सले मंगलबार तथा शनिबार गरी सातामा दुई उडान गर्न अनुमति पाएको छ। यो उडान तालिका सेप्टेम्बर ३० सम्मका लागि मात्रै हो। अब छिट्टै विन्टर उडानको तालिका बनाउने क्यानले छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।