काठमाडौं– नेपाल राष्ट्र बैंकले डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार नेपालमा गैर कानुनी भएको स्मरण गराएको छ। केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीको कारोबार तथा माइनिङमा संलग्न हुनेलाई कानुनी कारबाही हुने चेतावनी समेत दिएको छ।
एक सूचना जारी गर्दै राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग/माइनिङ गैरकानुनी भएकाले यस्ता प्रकारका कार्य नगर्न भनेको हो।
'नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेनसीहरुको कारोबार, प्रयोग/ माइनिङ गैरकानुनी रहेकोले यस्ता प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङसम्बन्धी कार्य नगर्नु/नगराउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ,' राष्ट्र बैंकको सूचनामा भनिएको छ।
राष्ट्र बैंकले हालका दिनहरुमा क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने/गराउने गरेको पाइएको उल्लेख गर्दै त्यस्तो कार्यबाट ठगिन सक्ने भन्दै केन्द्रीय बैंकले सर्वसाधारणलाई सचेत समेत गराएको छ।
'हालका दिनहरुमा क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङजस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गराउने समेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारणहरु ठगिएको / ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानूनबमोजिम सजाय हुने व्यहोरा समेत जानकारी गराइन्छ,' राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलद्वारा जारी सूचनामा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।