काठमाडौं- बुधबार छोरालाई जन्म दिएकी अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमार्फत ‘आफ्नो छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकियोस्’ भनेकी छिन्। बुधबार काठमाडौंको एक अस्पतालमा छोरालाई जन्म दिएकी ऋचाले बिहीबार आफ्नो फेसबुकमा छोरासहितको तस्बिर सार्वजनिक गर्दै यस्तो लेखेकी हुन्।
सामाजिक सञ्जालमा फेसबुकमा ऋचाले लेखकी छिन्, ‘एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र लोभ छ अब।’
आफ्नो छोराको नाम ‘आभ्यान बिक्रम राणा’ भएको समेत उनले जानकारी दिएकी छिन्। त्योसँगै सन्तानको आगमनले आफूलाई संसारमै सबैभन्दा धनि महसुस गराएको उनले बताएकी छिन्।
‘आज धेरै कुरा लेख्छु भनेर सोचिरहेको थिएँ, यो ९ महिनाको मनोवाद पोख्छु भनेर सोचिरहेको थिएँ’, ऋचाले लेखेकी छिन्, ‘तर, आज शब्दको अभाव महसुस भइरहेको छ, भावनालाई कसरी बुनुम भइरहेको छ।’
हिजोसम्म आफू केटाकेटीजस्तो लागेपनि सन्तानलाई जन्म दिएपछि एकाएक परिपक्क भएको आभाष गरिरहेको ऋचाले बताएकी छिन्। आफूले पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै पर्दा बारि आमा बन्ने सौभाग्य पाउँदा यो जस्तो महत्त्वपूर्ण र न्यानो चरित्र कहिल्यै निर्वाह गर्ने मौका नपाएको महसुस गरिरहेको उनले बताएकी छिन्।
‘सोच्दा पनि पृथ्वी बोकेझैं लाग्छ,’ उनले लेखेकी छिन्, ‘आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ। पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दाबाहिर आमा बन्ने सौभाग्य पाउँदा यो जत्तिको महत्त्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइनँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।