काठमाडौं- ‘हिन्दी मिडियम’ फिल्ममार्फत बलिउडमा प्रवेश गरेकी पाकिस्तानी मुलकी अभिनेत्री सबा कमरविरुद्ध पाकिस्तानमा पक्राउ पुर्जी जारी भएको छ।
पाकिस्तानको एक अदालतले उनी र उनका एक साथीविरुद्ध एतिहासिक मस्जिदमा भिडियो खिचेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो। पटक पटक अदालतमा हाजिर हुन भन्दा पनि कमर अदालतमा उपस्थित नभएकाले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।
गत वर्ष पाकिस्तानको लाहौर शहरस्थित वजीर खान मस्जिदमा भिडियो खिचेर मस्जिदलाई ‘अपवित्र’ पारेको आरोपमा अभिनेत्री कमर र उनका साथी बिलाल सईदविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको थियो। पाकिस्तानको अपराध संहिताको धारा २९५ अनुसार दुईनजना विरुद्ध एतिहासिक मस्जिदको पवित्रता भंग गरेको आरोपमा मुद्दा चलाइएको थियो।
कमर र उनका साथीले खिचेको भिडियोलाई लिएर निकै विवाद पनि भएको थियो। यो मुद्दामा मस्जिदमा कार्यरत दुई कर्मचारीलाई पाकिस्तान सरकारले बर्खास्त पनि गरेको थियो। सामाजिक सञ्जालमा पनि मस्जिदमा भिडियो खिचेको भन्दै कमरलाई ‘ज्यान मार्ने धम्की’ समेत दिइएको थियो।
यो घट्नालाई लिएर लाहौरस्थित अदालतले अभिनेत्री कमर र उनका साथीलाई पटक पटक अदालतमा उपस्थित हुन भनेको थियो। तर, उनीहरु अदालतमा उपस्थित नभएपछि अदालतले दुई विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। अदालतले उक्त मुद्दामा आगामी सुनवाई ६ अक्टोबरलाई राखेको छ।
पाकिस्तानमा थुप्रै फिल्ममा अभिनय गरेकी कमरले बलिउडमा ‘हिन्दी मिडिम’सँगै बेसरम’, ‘मन्टो’जस्ता चर्चित फिल्ममा अभिनय गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।