काठमाडौं- भदौ १९ गतेबाट बेपत्ता भएका झापाका रंगकर्मी प्रकाश दाहाल सम्पर्कमा आएका छन्। बेपत्ता भएको करिब एक सातापछि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू सकुशल रहेको भन्दै भिडियोमार्फत् जानकारी दिएका हुन्।
गत साता राति ११ बजेबाट हराएका उनी कसैलाई खबर नगरि हिँडेकाले धेरै दुःख भएको भन्दै माफी मागेका छन्। फेसबुकमा भिडियो अपलोड गरेर उनले आफू स्याङ्जाको वालिङमा रहेको र सकुशल रहेको बताएका छन्।
‘मोबाइल नबोकी हिँडेकाले मैले दिएको सास्तीप्रति शीर निहुर्याएर माफी माग्न चाहन्छु’, दाहालले भिडियोमा भनेका छन्, ‘तपाईंले जुन दुःख पाउनुभयो त्यसका लागि एकदमै माफी चाहन्छु।’
गत साता दाहाल सम्पर्कविहीन भएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय, दमकमा उनको खोजीका लागि निवेदन दिएको थियो। साथै सामाजिक सञ्जालमार्फत् पनि उनका शुभचिन्तकहरुले उनको खोजी गरिरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।