काठमाडौं- मुम्बईस्थित बम्बई उच्च अदालतले अभिनेत्री कंगना रणावतले दायर गरेको उजुरीलाई खारेज गरेको छ। कंगनाविरुद्ध गीतकार जावेद अख्तरद्वारा दर्ता गरिएको अपराधिक मानहानीको मुद्दालाई रद्ध गर्न कंगनाले गरेको उजुरीलाई अदालतले खाजेर गरेको हो।
यो मुद्दामा कंगनाले गत वर्ष मार्चमा जमानत पाएकी थिइन्। कंगनामाथि गीतकार जावेदलाई आधारहीन आरोप लगाएर उनको नाम खराब गर्ने कोरिस गरेको आरोप लगाइएको थियो। अभिनेत्री कंगना पटक पटक अदालतमा बोलाउँदा पनि उपस्थित नभएपछि उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
कंगनाले गत वर्ष एक सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा जावेद अख्तरले आफूलाई घरमा बोलाएर धम्की दिएको बताएकी थिइन्। कंगनाका अनुसार अख्तरले कंगनाले राकेश रोशन र उनको परिवारको बारेमा बोलेको कुरामा माफी नमागे उनलाई जेलसम्म पठाउन सक्ने धम्की दिएका थिए।
कंगनाको यस्तो अन्तर्वार्तापछि नै अख्तरले उनीविरुद्ध उजुरी दिएका थिए। जावेदको उजुरीपछि कंगनाविरुद्ध अपराधिक मानहानीको मुद्दा चलेको थियो।
कंगनाले उक्त मुद्दालाई रद्द गर्न दिएको उजुरीलाई न्यायाधीश रेवती मोहिते डेरेको एकल इजालसले खारेज गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।