राजविराज– ‘पोहोरको बाढीमा कसो मरिएन’ सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ रघुनाथपुरकी जितनी देवी सदाले भनिन्, ‘यसपाली पनि वर्षा लागिसक्यो, बाढी आयो भने लालाबाला कसरी जोगाउनु भन्ने चिन्ताले पिरोलेको छ।’
छिमेकी शान्तिदेवीको पीडा पनि जितनीको भन्दा कम छैन। घरछेउकै सुन्दरी खोलाको बाढी पसेर गत वर्ष गाउँका ५ जनाको घर बगायो भने उनले अधियामा कमाएको डेढ बिगाह खेत पनि बगरमा परिणत भएको थियो।
‘गाउँमा बाढी पसेको थाहा पाउने बित्तिकै बालबच्चा च्यापेर अन्त नगएको भए हाम्रो पनि एकै चिहान हुन्थ्यो’, उनले भनिन्, ‘त्यतिबेला त जसोतसो बाँचियो, तर यस वर्ष चाहिँ ग्यारेन्टी छैन।’
सुन्दरी खोलाको बाढी गत वर्ष धार परिवर्तन गरी वाँध भत्काएर गाउँ पसेपछि रघुनाथपुरमा ठूलो क्षति गरेको थियो। स्थानीय देवनारायण यादव, अवधि यादव, राजकुमार यादव, नवल यादव, रामकृष्ण यादव लगायतको घर बाढीले बगाएर लगेको स्थानीय घुरन सदाले बताए।
‘त्यतिबेला क्षति भइसकेपछि तमासा हेर्न नेतादेखि जिल्लाका प्रशासकहरुको समेत केही दिनसम्म निकै दौडधुप चल्यो’, उनले भने, ‘त्यसपछि बाँध बनाउने र पीडितलाई कसरी जोगाउने भन्नेबारेमा कसैले पनि चासो देखाएका छैनन्।’
स्थानीय घुरन सदाले भने, ‘हामी दैनिक मजदुरी गरेर गुजारा गर्ने सुकुम्बासीहरुले सरकारले बाढीबाट सुरक्षा देला भन्ने ठूलो आशा राखेका थियौं। तर, कसैले एक चपरी माटो समेत हालेका छैनन्।’
बाढीले रघुनाथपुर, ठेलिया, भेडिया, गोरपार, सुब्बाटोल, बडहरा, त्रिकौल, गिरहा लगायत स्थानमा करिब ५ सय बिगाह जग्गा समेत पुरेको थियो। बाढीले ल्याएको बालुवाले पुरेर खेतभन्दा खोला अग्लो भएकाले गत वर्षको तुलनामा कम वर्षा भए पनि क्षति बढी हुने प्राविधिकहरु बताउँछन्।
सप्तरीको उत्तरतर्फ रहेको चुरे पहाडमा पूर्व फत्तेपुरदेखि पिप्रापश्चिमसम्म ५ हजार जति ठूलो–सानो पहिरो गएको र वर्षा हुँदा त्यहाँको गेग्रान बगेर खोलामै मिसिने हुँदा हरेक वर्ष खोलाको सतह बढिरहेकाले डुबानको समस्या पनि उच्च बन्दै गएको जिल्ला भूसंरक्षण कार्यालय सप्तरीका प्रमुख विष्णुबहादुर भण्डारी बताउँछन्।
‘२०७२ बैसाख १२ गतेको भूकम्प र अनाधिकृत दोहनले गर्दा चुरे विनास हुँदै गएको छ’, उनले भने, ‘खोलामा सिल्ट्रेसनको समस्या पनि यसै कारणले बढेको हो।’
खोला नियन्त्रणका नाममा करोडौंको लगानी हुने गरे पनि माथि चुरेमा पहिरो रोकथाम लगायत अन्य सुरक्षाका लागि योजनाबद्ध काम हुन नसक्दा डुबानको जोखिम पनि उच्च हुँदै गएको भण्डारीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।