कपिलवस्तु– जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय तोकेको छ।
जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो। २०७३ जेठ ३० गते भैँसी चराउन गएकी बोल्न नसक्ने (लाटी) ४० वर्षीया थारु समुदायकी एक महिलालाई अवस्थीले करणी गरेको आरोप लागेको थियो।
तत्कालीन अवस्थामा सशस्त्र प्रहरी बल चन्द्रौटामा कार्यरत अवस्थीलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत अदालतले फैसला गरेको छ।
मुलुकी ऐन जबर्जस्ती करणी ३ (५) अनुसार ५ वर्ष कैद सजाय हुने व्यवस्था छ। अदालतका श्रेस्तेदार डिल्लीराज शर्माकाअनुसार सोही महलको ३ (क) अनुसार शारीरिकरुपमा अस्वस्थ महिलालाई करणी गरेकोमा थप ५ वर्ष कैद सजायको फैसला सुनाइएको हो।
यस्तै सो मुद्दाका अर्का अभियुक्त प्रहरी राजु थारुलाई तीन वर्ष कैद तोकिएको छ। थारुले करणीमा अवस्थीलाई मद्दत गरेको पाइएको श्रेस्तेदार शर्माले बताए।
घटनाको विरोधमा स्थानीयवासी आन्दोलित भएपछि अवस्थीलाई प्रहरीमा बुझाइएको थियो। ती महिलाको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।