काठमाडौं- बलिउड अभिनेता विद्युत जामवालले इन्गेजमेन्ट गरेका छन्। उनले बलिउडकै फेसन डिजाइनर नन्दिता मेहतानीसँग इन्गेजमेन्ट गरेका हुन्।
केही दिनयता दुईजनाको इन्गेजमेन्टलाई लिएर विभिन्न चर्चा भइरहेका थिए। तर, कसैले पनि यसको पुष्टि गर्न सकेको थिएन। हालसालै बलिउड अभिनेत्री नेहा धूपियाले आफ्नो सामाजिक सञ्जालमा दुई जनाको फोटो पोस्ट गर्दै बधाई दिएपछि मिडियामा आएको खबर पुष्टि भएको हो। धूपियाले लेखेकी छन्, ‘अहिलेसम्मकै सबैभन्दा राम्रो खबर सुनियो। दुवैलाई बधाई।’
धूपियाले पोस्ट गरेको फोटोमा अभिनेता जामवाल र मेहतानी ताज महल अगाडि सँगै उभिएर हात समाएका देखिन्छन्। उक्त फोटोमा मेहतानीको औँलामा देखिएको औंठीले पनि यो जोडीको इन्गेजमेन्ट भएको पुष्टि गरेको छ।
जामवाल र मेहतानी केही समयअघिदेखि नै आफ्नो सम्बन्धका कारण चर्चामा थिए। सार्वजनिक रुपमा दुई जनाले आफ्नो प्रेम नस्वीकारे पनि विभिन्न पारिवारिक तथा सार्वजनिक कार्यक्रमदेखि फिल्म सेटमासमेत उनीहरु सँगै देखिने गर्थे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।