काठमाडौं- भारतीय अभिनेता तथा रियालिटी शो ‘बिग बोस’को १३औं संस्करणका विजेता सिद्धार्थ शुक्लाको निधनपछि भारतीय मिडियाले गरेको व्यवहारलाई लिएर बलिउड अभिनेत्री अनुष्का शर्मा र अभिनेता जाकिर खानले आक्रोश व्यक्त गरेकी छन्। आफ्नो सामाजिक सञ्जालमार्फत् उनीहरुले मिडियाको लागि कलाकारको निधन सधैं ‘तमाशा’ मात्रै हुने बताएका छन्।
बिहीबार निधन भएका शुक्लाको अन्तिम संस्कार शुक्रबार मुम्बईस्थित ओरिवारा घाटमा गरिएको थियो। अन्तिम संस्कारमा उनको परिवारदेखि फिल्मकर्मी, टेलिभिजनका कलाकारसँगै अत्यन्तै धेरै मात्रामा मिडियाकर्मीहरु उपस्थित थिए। उक्त घटनालाई लिएर अनुष्का र जाकिरले आफ्नो आक्रोश पोखेका हुन्।
स्ट्याण्ड–अप कमिडियन, अभिनेता तथा युट्युबर जाकिर खानले आफ्नो इन्स्टाग्राममा कलाकारको मृत्युमा मिडियाले गर्ने कभरेजलाई लिएर आक्रोश पोखेका थिए। अनुष्काले जाकिरकै पोस्ट सेयर गर्दै भारतीय मिडिया संवेदनाहीन भएको संकेत गरेकी छन्।
जाकिरले उक्त पोस्टमा सिद्धार्थको मृत्युपछि भारतीय मिडियामा आएको खबर र सामाजिक सञ्जालमा फैलिरहेका तस्बिर तथा भिडियोलाई लिएर आक्रोश पोखेका छन्।
उक्त पोष्टमा लेखिएको छ, ‘उनीहरुले तिमीलाई मान्छे पनि सम्झिदैनन्। तिम्रो मृत्यु उनीहरुको लागि तस्बिर लिने मौका हो। १० तस्बिर, ५ खबर, ३ भिडियो र दुई वटा स्टोरीपछि सबै सकिन्छ। त्यसैले तिम्रो मृत्यु उनीहरुको लागि तमाशा मात्रै हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।