बुटवल- ५ नम्बर प्रदेश सरकारले आज नीति कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख उमाकान्त झाले सरकारको आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश सभामा नीति कार्यक्रम संसदमा प्रस्तुत गरे।
सरकारले फागुन ३ गतेलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने जनाएको छ। सो दिन प्रदेशको हरेक क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्नेहरुलाइ पदकले विभूषित गरिने छ। सरकारले अघि सारेका नीति तथा कार्यक्रममा विद्युतिय बस, मोनोरेल सञ्चालनदेखि कृषि सूचना अनुसन्धान केन्द्रसम्मका विषयहरु समेटिएका छन् भने प्रदेशमा भूमि बैंक स्थापना गरिने र सधैं पहिरोले सास्ती दिने सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा वैकल्पिक सडक निर्माणदेखि सिद्धबाबा डाँडो कटान गर्ने नीति पनि अगाडि सारिएको छ।
प्रदेशका सबैघरमा शुद्ध खानेपानी पुर्याइने जनाइएको छ। साथै थ्रिपी आधारमा सहरी फोहोर व्यवस्थापन गरिने उल्लेख गरिएको छ। विद्युतीय बस सञ्चालन सम्भाव्यता अध्ययनका लागि सरकारले यथाशीघ्र काम गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा भैरहवा-बुटवल, नेपालगन्ज–कोहलपुर र घोराही–तुलसीपुरमा विद्युतीय बस सेवाको लागि सम्भाव्यता अध्ययन गर्ने, एक घर एक धाराको नीति अनुसार प्रदेशका सबै घर परिवारमा शुद्ध खानेपानी उपलब्ध गराउने उल्लेख गरिएको छ। त्यस्तै नेपालगन्ज–कोहलपुर, घोराही–तुलसीपुर, बुटवल–भैरहवा तथा आसपासका क्षेत्रलाई समेटेर तीन महानगरको स्थापना गर्ने, ‘एक गाँउ एक उत्पादन’ र समूहमा आधारित कृषि व्यवसायलाई प्रोत्साहन गर्ने र ‘एक पालिका एक शीत भण्डार’ निर्माण गर्दै जाने नीति लिने उल्लेख गरिएको छ।
‘एक गाउँ एक पोखरी’ निर्माण, आर्थिक वर्ष २०७५/७६ देखि ‘प्रदेश स्मार्ट कृषि गाउँ कायर्क्रम’ सञ्चालन गर्ने, जगदीशपुर तालक्षेत्रमा ‘आगन्तुक चरा अध्ययन केन्द्र’स्थापना गर्ने लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।