काठमाडौं- भारतीय अभिनेता तथा रियालिटी शो ‘बिग बोस’का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ। ४० वर्षका शुक्लाको हृदयघातका कारण मुम्बईस्थित कुपर अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।
शुक्लाले बिग बोसको १३औं संस्करण जितेका थिए भने उनले अर्को भारतीय रियालिटी शो ‘खतरोंके खिलाडी’को सातौं संस्करण पनि आफ्नो हात पारेका थिए। त्यो बाहेक उनी भारतीय टेलिभिजन श्रृङ्खला ‘बालिका वधू’मार्फत् भारतभर चर्चित भएका थिए।
सन् १९८० मा मुम्बईमा जन्मिएका शुक्लाको करियर मोडलको रुपमा सुरु भएको थियो। सन् २००४ मा टेलिभिजनमार्फत् उनले अभिनयको सुरुवात गरेका थिए। उनले सन् २००८ मा उनले ‘वह बाबुलका आंगन छुटे’ नामक टेलिभिजन सिरियलमा अभिनय गरेका थिए। बालिका वधूको अभिनयपछि भने उनी निकै चर्चामा आएका थिए।
टेलिभिजनसँगै शुक्लाले फिल्म तथा सिरिजमा पनि काम गरेका थिए। सन् २०१४ मा उनले ‘हम्पटी शर्माकी दुल्हनिया’ फिल्ममा अभिनय गरेका थिए भने यही वर्ष उनी अभिनित ‘ब्रोकन बट ब्यूटीफुल’ सिरिज पनि सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।