काठमाडौं- थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको निधन भएको छ। उनको बुधबार साँझ उपचारको क्रममा ६ः५१ बजे निधन भएको हो।
लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो।
‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं।’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भने।
उनका अनुसार उनलाई खाना पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन्।
गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो।
नर्भिक अस्पतालले घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो। उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो।
उनको भोलि दाहसंस्कार गरिने उपचारका लागि उद्धार गर्ने दुर्गानाथ दाहालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।