काठमाडौं- यस वर्षको अटम सिजनमा मनास्लु हिमाल आरोहणका लागि थप दुई टोलीले अनुमति पाएका छन्।
पर्यटन विभागले बुधबार दुई टोलीका २७ आरोहीलाई आरोहण गर्न अनुमति दिएको हो। यसअघि मंगलबार दुई टोलीका २५ जनाले अनुमति पाएका थिए।
यससँगै यो सिजन अनुमति पाउने टोलीको संख्या चार पुगेको छ। चार टोलीमा गरेर ५२ आरोही रहेका छन्।
बुधबार आरोहण अनुमति पाउने पहिलो टोलीमा १२ जना रहेका छन्। जसमा महिला दुई र पुरुष १० जना रहेको विभागले जनाएको छ।
यसैगरी आजै अनुमति पाएको दोस्रो टोलीमा १५ जना रहेका छन्। उक्त टोलीमा पनि दुई महिला आरोही रहेको विभागले जनाएको छ।
विश्वको आठौं अग्लो हिमाल मनास्लुको उचाई ८,१६३ मिटर रहेको छ।
चार टोलीलाई आरोहणका लागि अनुमति दिएबापत् ५६ लाख दुई हजार रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।