काठमाडौं– नेपाली कांग्रेसको निर्वाचन समितिले सबै वडामा भदौ १८ मा अधिवेशन गर्न सकिने सम्भावना टर्दै गएको बताएको छ।
कांग्रेसले भदौ १८ मा वडा अधिवेशन गर्ने कार्यातालिका तय गरेको थियो। छैठौंपटक परिमार्जन गरिएको कार्यतालिका पुनः प्रभावित हुने भएको छ। पार्टीले क्रियाशील सदस्यताको सूची प्रकाशित नगरेका कारण तोकिएको मितिमा अधिवेशन गर्न सम्भवन नरहेको समितिका संयोजक महादेव यादवले जानकारी दिए।
दुई चरण गरि ५३ जिल्लाको क्रियाशील सदस्यता प्रकाशित गरिएको छ। भदौ ११ मा ४८ र भदौ १२ मा ५ जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएको छ। २४ जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित भएको छैन।
निर्वाचन समितिले ५३ जिल्लामा निर्वाचन अधिकृत तोकेको छ। बाँकी २४ जिल्लामा नामावली नआएकाले थप प्रक्रिया अघि बढाउन नसकिएको समिति संयोजक यादवले जानकारी दिए। थप जिल्लाको नामावली कहिलेसम्म प्राप्त हुने भनेर यकिन नभएको यादवले बताए। उनले भने,‘पार्टीले कुनै कम्युनिकेसन नै गरेको छैन। भदौ १८ मा अधिवेशन गर्न सकिने अवस्था छैन।’
वडा अधिवेशनका लागि तीन दिन बाँकी हुदाँ समेत नामावली प्रकाशित हुन सकेको छैन। निर्वाचन अधिकृत पठाइएका जिल्लामा समेत समस्या रहेको उनले बताए। वडा तहमा सूची पुर्याउन कठिन भएको निर्वाचन समितिले जनाएको छ। वर्षात्को समयमा बाटो बिग्रिएकाले सूची पुर्याउन अप्ठ्यारो रहेको यादवले बताए।
देशभरका वडामा एकैदिन अधिवेशन गर्नका लागि केही दिन तालिका पर सार्ने कसरत समेत भएको छ। सबै वडामा एकै दिन गर्ने गरी तालिका ४ दिन पर सार्ने तयारी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।