काठमाडौं- थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नभएको अस्पतालले बताएको छ।
मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कर्पोरेट कम्युनिकेसन अफिसर सोमनाथ बास्तोलाले घिमिरेको स्वास्थ्य अवस्था स्थिर रहेपनि अपेक्षित सुधार हुन नसकेको बताए।
तीन वर्षअघि अध्ययनका लागि भारत पुगेकी घिमिरे सवारी दुर्घटनामा परेकी थिइन्। भारतमै केही समय उपचार भएपनि आर्थिक अवस्थाका कारण उनको परिवारले उनलाई नेपाल ल्याएको थियो।
केही समयदेखि अचेत अवस्थामा घरमै रहेकी उनको तस्वीर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएकी थिइन्।
‘निशाको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध भएसम्मका प्रविधि, सीप र विधिको प्रयोग गरिएको छ। तर, स्वास्थ्यमा खासै सुधार देखिएको छैन। अहिले घिमिरेको स्वास्थ्य अवस्था स्थिर छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।