काठमाडौं– वीर अस्पतालमै अनसन बसेकी गंगामाया अधिकारीको जीवनरक्षा माग गर्दै मानव अधिकारकर्मीहरुले राष्ट्रिय मानव अधिकार आयोगमा बिहान धर्ना दिएका छन्।
गोरखा फुजेलकी अधिकारी आफ्नो छोरा कृष्ण अधिकारीको हत्यारालाई सजाय गर्न माग गर्दै केही दिनदेखि वीर अस्पतालमा अनसन थालेकी छन्। उनका पति नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा मृत्यु भएको थियो। गंगामायाको माग र बिग्रँदो स्वास्थ्य स्थितिको तत्काल सम्बोधन माग गर्दै द्वन्द्वपीडित र अधिकारकर्मीले बिहान १० बजे आयोगमा धर्ना दिएका हुन्।
धर्नालाई सम्बोधन गर्दै आयोगका सदस्य प्रकाश वस्तीले अदालतमा मुद्दा विचाराधीन रहेको र त्यसमा न्याय दिलाउने कुरामा कानुनले दिएको अधिकार क्षेत्रभित्र रही आयोगले आफ्नो काम गर्ने बताए। अदालत लगायत सबै राष्ट्रिय निकायहरू कमजोर रहेको अवस्थामा आयोगले द्वन्दकालीन घटना लगायतको सम्पूर्ण मानव अधिकार उल्लंघनका विषयमा तत्काल कदम अगाडि बढाउन दबाब दिने उद्देश्यले धर्ना दिइएको उनीहरुको जिकिर छ।
गंगामाया जीवित छँदै न्यायको खबर सुन्न आतुर रहेकाले उनको माग सम्बोधन गर्न उनीहरुले आयोगसँग माग गरे।
द्वन्द्वकालमा मामाघर चितवन आएको समयमा कृष्ण अधिकारीको अपहरण गरी तत्कालीन विद्रोही माओवादीले हत्या गरेको थियो। हत्या सम्बन्धी मुद्दा चितवन जिल्ला अदालतमा चलिरहेको छ। किटानी जाहेरीमा रहेका व्यक्तिहरु धरौटीमा छुटे लगत्तै अधिकारी दम्पत्ती धर्नामा बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।