काठमाडौं– कहिले मधेसीमाथि असमान टिप्पणी गरेका कारण त कहिले आफू संलग्न कार्यक्रमका प्रतिस्पर्धीमाथि गरेको टिप्पणीका कारण कलाकार सन्तोष पन्त पछिल्लो समय पटकपटक विवादमा आइरहेका छन्। रियालिटी शो ‘कमेडी च्याम्पियन’को निर्णायकको भूमिकामा देखिएपछि पहिलो संस्करणबाटै उनी विवादित अभिव्यक्ति दिइरहेका छन्।
पहिलो संस्करणमा सहभागीमध्येका एक आदर्श मिश्रमाथि मधेसी भन्दै विभेद गरेका कारण उनी विवादमा आएका थिए। दोस्रो संस्करणमा फेरि उनी विवादमा आएका छन्। शनिबार प्रसारण भएको कार्यक्रमको उत्कृष्ट चार सहभागीमध्ये एकको प्रस्तुतिमाथि उनले गरेको टिप्पणीका कारण उनी विवादमा आएका हुन्।
कमेडी च्याम्पियनका अधिकांश प्रतिस्पर्धीले कुनै समुदाय विशेष वा व्यक्ति विशेष भइ हास्यव्यंग्य गरिरहँदा बिक्की अग्रवालले भने फरक प्रस्तुति दिएका थिए। शनिबारको कार्यक्रममा उनले ‘पेन्टोमाइन’ शैलीमा आफ्नो प्रस्तुति दिएका थिए। बिना संवाद हाउभाउमार्फत नाट्य शैलीमा दर्शक स्रोतालाई हँसाउन गरिने यो शैलीको अभिनय शास्त्रीय रंगमञ्चसँग जोडिएको छ।
नृत्य, हाउभाउ, संगीतमार्फत अभिनय गरेका अग्रवालको प्रस्तुतिलाई दर्शकदेखि अन्य निर्णायकले रुचाए पनि निर्णायक पन्तले भने रुचाएनन्। उनले अग्रवालको प्रस्तुति मन नपराउने मात्रै होइन्, नकारात्मक र नेपाली समाजको लागि नभएको प्रस्तुतिको संज्ञासमेत दिए।
‘हाम्रो हास्ने स्टायल र विदेशीको हास्ने स्टायल एकदमै फरक छ,’ पन्तले टिप्पणी गर्दै भनेका छन्, ‘उनीहरुको कमेडीको स्वाद र हाम्रो कमेडीको स्वाद मिल्दैन। यो प्रयोग तिम्रो लागि अलि गाह्रै पर्छ। तर, हाम्रो समाजले यो प्रयोगलाई बुझ्दैन। मैले त बुझिन, अरुले के बुझ्छन्। यो कमेडी च्याम्पियनमा तिम्रो प्रयोगले हाँसो लागेन।’
पन्तले गरेको यो टिप्पणीका कारण उनी फेरि विवादमा आएका छन्। वर्षौंसम्म आफूलाई हास्यकलाकारको रुपमा चिनाउने र हास्यव्यंग्यसँगै जोडिएको रियालिटी शोका निर्णायक भएर पनि प्रस्तुति नबुझेको बताएका कारण सामाजिक सञ्जालमा उनीमाथि नकारात्मक टिप्पणी सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।