काठमाडौं- पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबारे विभिन्न सञ्चार माध्यममा आएका नकारात्मक टीकाटिप्पणी र समाचारप्रति नागरिक उड्ययन प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नागरिक उड्डयन प्राधिकरणका निर्देशक एवं प्राधिकरण अन्तर्गत राष्ट्रिय गौरवका आयोजना प्रमुख इन्जिनियर प्रदीप अधिकारीद्वार जारी विज्ञप्तिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित विज्ञ समूहको हवाला दिँदै विमानस्थलबारे नकारात्मक टिप्पणी र समाचार आउनु दुखद् भएको बताइएको छ।
'संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित विज्ञ समूहको प्रतिवेदनलाई अनावश्यक तोडमोड गरी गरिएका टीकाटिप्पणीले विषयवस्तुको बुझाइमा फरक पर्न गएको देखिन्छ,' विज्ञप्तिमा भनिएको छ, 'समग्र नेपालका विमानस्थलहरुको आर्थिक सम्भावना सम्बन्धमा गरिएको अध्ययनका क्रममा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरु दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लगानी सुनिश्चितता एवं आत्मनिर्भरताका सन्दर्भमा ट्राफिक फोरकास्ट र हवाई यातायात लगायतका आधारमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि अन्य आयोजनाभन्दा केही बढी समय लाग्ने अनुमान मात्र गरिएको हो।'
प्राधिकरणले हाल निर्माण कार्य सुरु भइसकेको र सन् २०२१ भित्र सम्पन्न गरी सञ्चालनमा आउने गरी काम अघि बढेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएको छ।
केही सञ्चार माध्यममा निर्माणाधीन पोखरा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको हुन नसक्ने भनी आएको लेख, टिप्पणी र समाचारप्रति प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।