नेपालका कलाकार सम्बन्धी पुस्तक आठ वर्षअघि नै प्रकाशन गर्ने जाँगर चलेको थियो। करिब ७०० पृष्ठको पुस्तक तयार पनि थियो। तर, त्यो कतै प्रेसमा पुगेर बेखबर र बेवारिसे भयो। लामै समय त्यसमा थप काम भएन।
२०७६ सालमा मुलुकमा कोरोना भाइरस पस्यो। त्यही सालको अन्तिमदेखि लकडाउन सुरु भयो। घरैमा थुनिन पुगेपछि उक्त पुस्तकलाई पुनर्लेखन गर्न थालेँ। २०७८ सालको सुरुमा बल्ल छापियो, ‘प्रतिनिधि नेपाली कलाकार’ पुस्तक। रङ्गीन चित्रहरुसहित यसका पृष्ठ घटेर ४६० वटा भएका छन्। पुस्तक लेखनमा मैले करिब एक दशक खर्चिएको छु।
पाण्डुलिपि तयारीपछि त्यसलाई प्रकाशन गर्नुको पीडा प्रत्येक लेखकले महसुस गरेका हुन्छन्। आफैँले छापेपछिको तनाव त भनिसाध्य हुँदैन। आफैँ प्रकाशक, वितरक, पाठक हुनुपर्छ। त्यसबाट प्राप्त हुने प्रतिफलको हिसाब नगरे हुन्छ। घाटाको घाउले घायलै बनाउँछ। तर, जब कसैको निगाहमा छापिन्छ वा कुनै प्रतिष्ठित संस्थाबाट छापिन्छ त्यसको कुरै अर्को हुन्छ।
प्रसव पीडापछिको हर्षित मुस्कानले पोतिएको मुहार। बधाई र शुभकामनाका अनेक सौगात। यी सँगै कति कटु र मृदु अनुभवहरू। भनिसाध्य हुँदैन, सुखदुःखका बग्रेल्ती बयान। किताब लेख्नुको सकस। किताब निकाल्नु र निस्किनुको हर्ष! अनि किताब निस्किएपछिको प्रतिक्रियाको प्रभाव र प्रहार!
प्रत्येक पटक एउटा ‘इमानदार लेखक’ भएर बाँच्नु र ‘विशुद्ध पाठक’ भएर पढ्नुको अलग अनुभूति छ। अत्यासलाग्दो र आफैँमा अपत्यारिलो पनि। लेखक भएर सोच्दा सामग्री जुटाउनु, लेख्नु, छापिएपछि अपार हर्षले गद्गद् भइरहनु नै आत्मसन्तुष्टिको प्रारम्भिक विन्दु रहेछ। तर, यसबीचका दु:ख भनिसाध्य छैनन्।
प्रकाशकको बजेटअनुसार पुस्तकमा लिखित सामग्रीहरूलाई आधा घटाउनुपर्यो। यसरी घटाउँदा कलाकारको मुख्य परिचयलाई प्राथमिकतामा राखेर पुनर्लेखनमा हिउँदको चिसो नभनी हिँडियो। चैतको हावाहुरी, वैशाखको गर्मी र झरीसमेत भनिएन। कति कलाकारको घर धाएर हैरान भइयो। कति कलाकारलाई फोन सम्पर्कबाट पनि भेट्न नसकेर हरेश खाइयो। कति कलाकारले भेट्नै नचाहेर आजित भइयो। छिटो सकिनुपर्ने कामले ढिलाइको अन्तराल तय गर्यो।
यसबीच कति अग्रज कलाकारहरू परलोक गमन भए। बाँचेकाहरूको लिखित परिचयात्मक विवरणलाई ‘अपडेट’ गर्नुको झमेला पनि झर्को लाग्दो थियो। कति कलाकारको आफूले जति काम गरे पनि चिनिएन भन्ने गुनासो। कति चाहिँ आफूलाई चिनाउनै नचाहने, आवश्यक जानकारी दिन आलटाल गर्ने। आफ्नो र आफूले बनाएको चित्रको तस्बिरसमेत खिच्न नदिने। कति कलाकारहरू भने आवश्यकताभन्दा बढी विवरण दिएर लेखाउन मरिहत्ते गर्ने। प्रशंसाका भोका, तर आलोचनाका शब्द देख्न नचाहने।
पुस्तकमा ५० वर्ष उमेर पुगेका अर्थात् वि.सं. १९८४–२०२७ (इ.सं. १९२६–७०) अवधिमा जन्मेका १२५ नेपाली कलाकारहरूका कलागत शैली, विषयवस्तु, माध्यम, कलाप्रदर्शनी, पुरस्कार आदि विवरण र कलाप्रति उनीहरूका दृष्टिकोण समेटिएका छन्। ९५ वर्षका जेष्ठ कलाकार गोविन्दनारायण ज्यापू र ५० वर्ष उमेरका विजय सर्ग ज्यापूसमेतलाई समेटिएको छ।
यस पुस्तकमा समसामयिक चित्र तथा मूर्ति विधामा समर्पित कलाकारका अतिरिक्त पौभा, मिथिला र अवधीकलाका साथै छापाकला, ग्राफिककला आदि विधाका कलाकारको परिचयात्मक विवरण छ। काठमाडौँ उपत्यकामा सिर्जनारत् कलाकार मात्र होइन झापादेखि नेपालगञ्ज, धनगढीसम्मका कलाकारहरूको चिनारी चित्रण गरिएको छ। यसले प्रतिनिधि नेपाली कलाकारहरूको चिनारीलाई अरू बढी फराकिलो बनाइदिएको छ। कलागत शैली, विषयवस्तु, माध्यम र प्रविधिका दृष्टिले नेपाली कलामा देखापर्दै आएका विविध स्वरूप तथा परिवर्तनलाई यस पुस्तकले समेटेको छ।
यो कलाको विश्लेषणयुक्त पुस्तक होइन। नेपाली कलाकारबारे लिखित सङ्क्षिप्त चिनारी मात्र हो। यो चिनारी साना दुःखले बनेको भने होइन।
कलासंंसारको आफ्नै घर–कोठामा चुपचाप कलाकर्ममै तन्मय रहनु ठिकै हो। तर भेट्न आउने, भेट्न खोज्ने र लेखेर कलाको अभिलेख तयार पार्न खोज्नेहरूलाई निराश पार्दा नेपाली कलाको इतिहास निर्माण हुन सक्छ र? त्यसका लागि सन्दर्भ–सामगीहरू चाहिन्छ। त्यसै पनि ललितकला लेखनका लागि स्रोत–सामग्री जुटाउनै गाह्रो।
दिवङ्गतको कुरा छाडौँ, कतिपय जीवित कलाकारकै जीवनी लेख्नुपर्दा ठूलै अभावको सामना गर्नुपर्छ। वास्तवमा कलालेखन सजिलो छैन। सहज सुविधा केही उपलब्ध छैन। लेखनको रुखो विधा यो स्वयम् कलाकारहरूकै चासोको विषय अन्तर्गत पर्दैन। अरूका लागि पनि खासै रुचिको विधा र विषय यो होइन।
हुनसम्मको सास्तीपछि बल्ल पुस्तकले अन्तिम आकार लिँदै गर्दा ‘रिजेलुसन’ कम भएका तस्बिरका लागि अर्को तनावको सामना गर्नुपर्यो। ‘लौ न छिटो गरिदिनुपर्यो। अझै आएन,’ भन्दै अनेकौँ पटक अनुनय–विनय गर्दागर्दै थाकेका ओठमुखहरू। सुस्केरा र सास्तीका कठिनतम् दिनहरू कति हो कति!
केही कलाकारले खासै चासो दिएको हैन। टेरपुच्छर नलगाउनेहरूको पनि राख्नु त परिगयो। त्यसका लागि पनि कति दुःख पाइयो। पर्खाइ र दु:खाइहरूको अलग्गै पाटो छ।
अन्ततः जब १२५ कलाकारहरूको जीवनी लिएर पुस्तक छापियो, अनि प्रतिक्रियाको प्रहार सुरु भयो। कसैले भने– ‘मेरो परिचय नै अधुरो रहेछ।’ कोही भन्छन्– ‘तस्बिरहरू त्यत्तिका दिएथेँ, तर एउटा मात्रै छापियो नि!’ कसैको प्रतिक्रिया ‘मेरो कामभन्दा फलानोको काम कमजोर छ। मभन्दा ऊ जुनियर हो। मैले जति काम अरूले गरेकै छैन। तर मलाई दुई पन्नामै टुङ्ग्याइएछ। मेरो लामो साधना र सिर्जनाको सही मूल्याङ्कन यो होइन। मेरो खास चिनारी नै आएन।’
तर, पुस्तक लेखिसकेपछि सन्तुष्टिका पाटा पनि छन्। पुस्तक प्रकाशक नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कुलपति केके कर्माचार्यले शुभकामना मन्तव्यमा भनेका छन्– ‘प्रतिष्ठानले नेपाली ललितकलाको अभिलेखन कार्यको आवश्यकता र महत्वलाई मनन गर्दै सो कार्यको थालनी गरेको छ। यस किसिमका कार्यले नेपाली कला लेखनको इतिहासको अध्यायमा ठूलो टेवा पुर्याउने मैले विश्वास लिएको छु।’ नेपाली कलाकारका जीवन र कला पक्षमाथि प्रकाश पारिएका सामग्रीहरूको अभावलाई यस पुस्तकले निकै हदसम्म पूरा गर्ने कर्माचार्यले उल्लेख गरेका छन्।
कुलपतिले भने झैँ पुस्तकले जीवित नेपाली कलाकारहरूबारे अभिलेखन गर्न मद्दत पुर्याउने छ। प्रतिनिधि नेपाली कलाकारको सचित्र चिनारी समेटिएको यस पुस्तकले वर्तमान र भावी पुस्तालाई समेत पर्याप्त जानकारी दिन मद्दत पुर्याउने छ।
हुन त यो पुस्तक कुलपतिकै स्वीकृत परियोजनाअन्तर्गत अनुमोदन र सम्झौता भई प्रकाशित भएको हो। रु.१ हजार मूल्य रहेको पुस्तक ‘म्याटफिनिस आर्ट पेपर’ मा तयार छ।
वरिष्ठ कलाकार शशीविक्रम शाहले पुस्तकको भूमिकामा लेखेका छन्– ‘यो पुस्तक समकालीन नेपाली कलाकारहरूको इतिहास हो। यस पुस्तकमा पहिलेदेखि काम गर्दै आइरहेका तथा हाल काम गर्न छाडिसकेका, तर नेपाली कलामा उनीहरूले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै तिनको बारेमा पनि चर्चा गरिएको छ। सम्भवतः एउटै पुस्तकभित्र यति धेरै कलाकारलाई समेटेर लेखिएको र आकारका दृष्टिले पनि यो नै पहिलो पुस्तक हो।’
जे होस्, धेरै सुख र दुःखका कुइनेटाहरू कटेपछि प्रतिनिधि नेपाली कलाकारहरूको जीवनी प्रकाशित भएको छ। कलाप्रति रुचि राख्ने पाठक तथा कलाका विद्यार्थीहरूका लागि यो पुस्तक सहयोगी रहने अपेक्षा राखेको छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।