काठमाडौं– नेपाल प्रहरीमा ३ हजार १ सय १ दरबन्दी थप हुने भएको छ। दरबन्दी थप्नका लागि गृह मन्त्रालयले पठाएको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति गरेको छ। अर्थको सहमतिसँगै नयाँ दरबन्दी थपिने पक्का भएको हो।
अर्थको सहमतिपछि आगामी मन्त्रिपरिषद् बैठकबाट दरबन्दी थपको निर्णय गर्न लागिएको हो। गृह मन्त्रालयका सहसचिव हरिप्रसाद पुडासैनीका अनुसार दरबन्दी थपसम्बन्धी प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको छ।
थप गर्न लागिएको दरबन्दीमा एक एसएसपी (प्राविधिक), १४ एसपी, १२ डिएसपी तथा ५० इन्सपेक्टरका पद छन्। हरेक स्थानीय तहसम्ममा प्रहरी संयन्त्र पुर्याउनका लागि यो दरबन्दी थप भएको गृह मन्त्रालय स्रोत बताउँछ। विभिन्न गाउँपालिकामा नयाँ कार्यालय स्थापनाको प्रस्ताव अनुसार दरबन्दी थप भएको हो। त्यस्तै नयाँ जिल्लाहरु पूर्वी नवलपरासी र पूर्वि रुकुममा पनि दरबन्दी स्वीकृत भएको हो। हाल ती जिल्लामा काजमा प्रहरी खटाइएको छ।
अहिले थपिएको दरबन्दीले केही सहजता हुने भए पनि अपुग भएको प्रहरी अधिकारीहरु बताउँछन्। प्रहरीका लागि करिब २० हजार दरबन्दी थप्नुपर्ने माग हुँदै आएको छ।
एआइजीको दरबन्दी कटौती
नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भने एआइजीको दरबन्दी कटौती भएको छ। नेपाल प्रहरीका प्राविधिकसहित ५ र सशस्त्र प्रहरीमा ३ जना एआइजी राख्ने सहमति भएको छ। प्राविधिक दरबन्दी थपेर प्रहरीको कम्युटर निर्शेनालयमा एआइजी राख्न लागिएको छ।
नेपाल प्रहरीमा अब प्रशासनतर्फ ४ मात्र एआइजी रहनेछन्। यसअघि १५ जनासम्म राखिएको थियो।
त्यस्तै, सशस्त्र प्रहरीमा तत्कालका लागि ३ जना र पछि २ जना राख्ने सहमति भएको छ। सशस्त्र प्रहरीमा हाल ८ जना एआइजी छन्।
नेपाल प्रहरीमा एआइजीका सबै दरबन्दी रिक्त भएकाले कटौती हुँदा समस्या छैन भने सशस्त्र प्रहरीमा भने ८ जना एआइजी रहेकाले उनीहरुको व्यवस्थापनमा समस्या हुने भएको छ। चार महिनाअघि बढुवा भएका सशस्त्रका ५ एआइजीको अहिलेसम्म पदस्थापन भएको छैन।
नेपाल प्रहरीमा एआइजीको दरबन्दी टुंगो नलाग्दा बढुवा प्रक्रिया सुरु हुन सकेको छैन। दरबन्दी स्वीकृत भएसँगै बढुवाको प्रक्रिया पनि सुरु गरिने गृहका एक अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।