काठमाडौं- अभिनेत्री आँचल शर्मा आफ्नो पारिश्रमिकअनुसारको कर तिर्न कर कार्यालय पुगेको भिडियो चर्चामा आएको छ।
लाजिम्पाटस्थित आन्तरिक राजश्व कार्यलयमा आफ्नो पारिश्रमिकको कर बुझाउन गएकी आँचलको भिडियो ट्वीटरमा अर्थमन्त्रालयका उपसचिव कर्ण तिमिल्सिनाले पोष्ट गरेका छन्।
‘एक जना नयाँ करदाता थपियो’ क्याप्सन राखेर पोष्ट गरिएको उक्त भिडियोमा आँचलले आफूलाई कार्यालयको सर्विस मन परेको बताएकी छिन्। उनले भनेकी छिन्, ‘एकदम राम्रो लाग्यो। सर्विस राम्रो छ।’
एकातिर आँचलले कर तिर्न गएकोमा भिडियोप्रति केहीले प्रशंसा गरेका छन् भने केहीले सरकारी कार्यालय र आँचलको पहिरनलाई लिएर उनलाई उडाएका छन्।
भिडियोलाई रिट्वीट गर्दै नीराजन शर्माले लेखेका छन्, ‘हामी कर तिर्न जाँदा पनि यस्तै सुविधा पाइन्छ?’ शशि भण्डारीले सोही भिडियोमा कमेन्ट गर्दै सेवाग्राहीलाई पनि सुविधा कस्तो लाग्यो सोध्नुपर्ने बताएकी छिन्। उनले लेखेकी छिन्, ‘तपाईंहरुले हाम्रो अड्डा कस्तो लाग्यो र काम कस्तो लाग्यो भनेर अरु सेवाग्राहीलाई पनि सोध्नुहुन्छ कि उहाँलाई मात्रै हो?’
त्यसबाहेक आँचलले सरकारी कार्यालयमा विना मास्क प्रवेश गरेको टिप्पणीसमेत गरिएको छ। दिलिपा श्रीले कमेन्ट गर्दै लेखेकी छिन्, ‘यीनले मास्कको प्रयोग गर्नु पर्दैन?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।