काठमाडौं- अभिनेता सलमान खानको बलिउड यात्रा ३३ वर्ष पुगेको छ। बलिउड ‘दबंग’ खान फ्यानहरुले रुचाइएका अभिनेता हुन्।
अभिनेता खानको फ्यान फलोइङ यस्तो छ कि उनको एक झलकका लागि मानिसहरुले घन्टौं पर्खने गरेका छन्। उनी गएको स्थानमा प्रहरीलाई भिड हटाउन हम्मेहम्मे पर्छ। तर यिनै सलमानलाई कुनै समय फिल्ममा एउटा सानो भूमिकाका लागि उनी घन्टौं लाइमा बस्नु पर्ने अवस्था थियो जतिबेला उनलाई कसैले चिन्दैन थिए।
फिल्ममा लगाब भएका सलमान फिल्ममा खेल्ने अवसर दिन भन्दै कयौं निर्माताका कार्यालयमा पुगे। सलमानको भाग्य एउटा फिल्मको सानो भूमिकाले तय गरेको थियो।
भारतीय सञ्चारमाध्यममा प्रकाशित एक समाचार अनुसार निर्देशक जेके बिहारीको एउटा फिल्ममा खेलेपछि सलमानको भाग्य खुलेको थियो।
बिहारी फिल्म ‘बीवी हो तो ऐसी’ बनाउने तयारीमा थिए। फिल्ममा प्रमुख भूमिकामा रेखा र फारुख शेखलाई राखेका थिए। फिल्ममा एक यस्तो भूमिका थियो जसलाई निभाउन जो कोहीले मानिरहेका थिएनन्।
बजेट कम दिने भएका कारण उक्त भूमिकामा खेल्नका लागि कलाकारले अस्वीकार गरिरहेका थिए। फिल्ममा रेखाको देवर बन्नुपर्ने भूमिका थियो । जसका लागि निर्माताले कम पैसा दिइरहेका थिए।
निकै प्रयासपछि पनि कलाकार नभेटेपछि निर्माताले यो भूमिका कुनै संघर्षरत कलाकारलाई दिने निर्णय लिए। त्यही बेला उनको कार्यालयमा सलमान पुगे। त्यसपछि उनको भाग्य बदलियो।
सलमानलाई निर्देशक जेके बिहारीले केही सोधपुछ गररी उक्त भूमिकाको लागि प्रस्ताव गरे । उनले सलमानलाई उक्त भूमिका निभाउन सक्छौं भनेर सोधे र भोलि पल्ट आएर पैसा लिएर जान भने। पैसा लिन आएको समयमा सुटिङको मिति भन्ने भनेर उनले सलमानलाई पठाए। त्यसपछि उनले उक्त फिल्ममा भूमिका निभए। फिल्म चल्यो। फिल्म रिलिज भएपछि कसैले पनि उनको भूमिका प्रति ध्यान दिएनन्।
स्कृनराइटर सलिम खानका छोरा सलमान १९८८मा उक्त फिल्मबाट बलिउडमा प्रवेश गरेका थिए।
यो फिल्म पछि सलमानले दोस्रो फिल्ममा अभिनय गर्न निकै लामो समय पर्खिनुपर्यो। उनले दोस्रो फिल्म ‘मैने प्यार किया’मा अभिनेत्री भाग्यश्रीसँग अनस्क्रिन रोमान्स गरे। यो फिल्ममा उनीहरुको केमेष्ट्रीलाई दर्शकले मनपराए। फिल्म सुपरहिट भयो। त्यसपछि सलमानले पछाडि फर्केर हेर्नुपरेको छैन। उनी पछिल्लो पटक फिल्म ‘राधे’मा देखिएका थिए।
सलमान हालका दिनमा फिल्म ‘टाइगर ३’को सुटिङमा व्यस्त छन्। त्यसका लागि उनी रसिया पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।