काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधानअनुरुप हुन नसकेको आरोप लगाएका छन्।
प्रथम महिला नेतृ मंगलादेवी सिंहको २५औं स्मृति दिवसको अवसरमा नेपाल महिला संघ काठमाडौंले आयोजन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको क्रियाशील सदस्यता वितरण विधानअनुरुप वितरण नभएकाले समस्या देखिएको बताएका हुन्।
क्रियाशील सदस्यता विवादलाई पार्टी सभापतिले जतिसक्दो छिटो प्रक्रिया अनुसार टंग्याउनुपर्ने उनको भनाइ थियो। ‘क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको छ। फाइनल लिस्टलाई तत्काल सार्वजनिक गर्नुपर्दछ,’ उनले भने।
विधि प्रक्रिया अनुसार महाधिवेशन गर्नुपर्नेमा उनको जोड छ। कांग्रेस तानाशाहलाई ढालेर आएको पार्टी भएको स्मरण गराउँदै उनले पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि विधानअनुरुप तह लगाउने चेतावनीसमेत दिए।
क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने भन्दै बुधवारबाट जिल्ला सभापतिले अनशन थाल्दा पनि पार्टी नेतृत्वले ध्यान दिन नसकेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।