भारत– बलिउड अभिनेता अमिताभ बच्चनको एक कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बच्चनको एक रोल्स रोय कारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बेङ्लोरको परिवहन विभागका अधिकारीहरुले अमिताभको कारसहित दशभन्दा बढी फेरारी र पोर्शजस्ता बिलासी कारलाई नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। विभागले नियन्त्रणमा लिइएका कारहरुले सडक कर नतिरेको जनाइएको छ।
अमिताभको गाडी सलमान खान नाम गरेका एक व्यक्तिले चलाइरहेका थिए। ३५ वर्षका उनका पिताले अमिताभबाट यो कार किनेका थिए।
अमिताभलाई यो कार निर्माता विधु विनोद चोपडाले सन् २००७ मा उनको फिल्म ‘एकलव्य’ हिट भएपछि उपहार स्वरुप दिएका थिए। अमिताभले यो गाडी सन् २०१९ मा यूसुफ शरीफ उर्फ डी बाबूलाई बेचेका थिए। अमिताभले कार बेचे पनि कारको नामसारी नगरिएका कारण समस्या भएको समाचारहरुमा जनाइएको छ।
बाबूका अनुसार यो कारलाई उनको परिवारका सदस्य आइतबार प्रयोग गर्छन्। विभागले कारको कागजात बुझाएपछि मात्र कार फिर्ता गर्ने जनाएको छ। विभागले कार बिक्रीको एघार महिना पछि कारको नामसारी गर्न नमिल्ने उल्लेख गरेको छ ।
बाबूले यो कार करिब ६ करोडमा किनेका थिए। तर उनीसँग अत्यावश्यक कागजात छैन। यद्यपि उनले अमिताभको हस्ताक्षर भएको एक कागज देखाएका छन्। जहाँ उनले आफूले गाडी बेचेको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।