काठमाडौं- नेकपा एमालेबाट विभाजन भएर माधव नेपालपक्षले निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि निवेदन दिएको थियो।
पार्टी दर्ताका लागि निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका नेताहरुलाई सनाखतका लागि बुधबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको लागि समय दिएको थियो। उक्त समयमा एकीकृत समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका थिए।
सोमबारबाट आफूपक्षधर नेताहरुलाई लिएर चन्द्रागिरि पुगेका नेता नेपालसहितको टोलि बुधबार विहान चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग सनाखतका लागि पुगेको थियो।
निर्वाचन आयोग पुगेका एकीकृत समाजवादीका नेताहरुले आफूहरुसँग ३१ जना सांसद् र ६२ केन्द्रीय सदस्य सशरीर निर्वाचन आयोगमा उपस्थित भएको दाबी गरेका छन्।
नेता जगन्नाथ खतिवडाले आफ्नो विचार समूहका दुई तिहाइ नेताहरु आफ्नो साथमा रहेको बताए। माधव नेपाल पक्षमा रहेका र अहिले केपी शर्मा ओली पक्षमा रहेका नेताहरुलाई आफूहरुले फिर्ता ल्याउने प्रयास नगर्ने बरु उनीहरु आफैं आउने खतिवडाको भनाइ छ।
सांसद र केन्द्रीय सदस्यको लाइन फरक-फरक राख्ने व्यवस्था गरेको छ। प्रस्तावित नेकपा(एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्यहरुको सनाखत स्थल र संघीय संसद सदस्यहरुको सनाखत स्थल भनेर छुट्टाछुट्टै लाइनको व्यवस्था मिलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।