सुर्खेत– ५१ प्रतिशतभन्दा बढी नागरिक गरिब भएको प्रदेश हो, कर्णाली। यही प्रदेशका मन्त्रीहरु भने आर्थिक रुपमा सम्पन्न रहेको पाइएको छ। कतिपय मन्त्रीहरुको सम्पत्ति विवरण हेर्दा आम नागरिकले जिब्रो टोक्नुपर्ने अवस्था छ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसहित सात जना मन्त्रीमध्ये सबैभन्दा धनी मन्त्री हुन्, खड्कबहादुर खत्री। भौतिक पूर्वाधार विकास मन्त्री खत्रीको जग्गा प्रदेश राजधानी वीरेन्द्रनगरदेखि केन्द्रीय राजधानी काठमाडौंसम्म गरी पाँच जिल्लामा जग्गा छ।
प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्रीको कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरुको व्यक्तिगत सम्पत्ति विवरणमा उल्लेख भएअनुसार मन्त्री खत्रीको सुर्खेत, बाँके, कैलाली, भक्तपुर र काठमाडौंमा गरेर ठूलो परिमाणमा जग्गा छ।
खत्री स्वयंको नाममा एक सय ५८.३७ कठ्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ भने उनकी श्रीमती पुष्पा खत्रीको नाममा २१.१९ कठ्ठा जग्गा देखाइएको छ।
मन्त्री खत्रीको नाममा भक्तपुरको चाँगुनायारण नगरपालिका र काठमाडौंको विष्णुबुढानीलकण्ठ नगरपालिकामा दुई÷दुई रोपनी तथा कैलालीमा दुई बिगाह र बाँकेको खजुरामा तीन बिगाहभन्दा बढी जग्गा छ। त्यसैगरी उनकी श्रीमती पुष्पाको नाममा सुर्खेतकै भेरीगंगा नगरपालिका ४ मा १३ रोपनी र रानीबासमा १२ रोपनीभन्दा बढी जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।
यसका साथै कैलालीको धनगढी, सुर्खेतकै वीरेन्द्रनगर, भेरीगंगा, बाँकेको कोहलपुर, गणापुर, खजुरा लगायतका स्थानमा पनि मन्त्री खत्री र उनको श्रीमतीको नाममा जग्गा छ। खत्रीले विभिन्न बैंकबाट ऋण लिएर तथा व्यवसायबाट भएको आम्दानीबाट उक्त जग्गा खरिद गरिएको स्रोत उल्लेख गरेका छन्।
उनले आफ्नो सम्पत्ति विवरणमा घर भने देखाएका छैनन्। जग्गामा मात्र होइन, सुन र चाँदीमा पनि उनी प्रदेशका सबैभन्दा धनी मन्त्री हुन्। उनले आफूसँग २१ तोला सुन र एक किलो चाँदी रहेको उल्लेख गरेका छन्। उक्त गहना भने श्रीमतीको दाइजोबाट आएको जनाएका छन्।
लामो समयदेखि निर्माण व्यवसायमा संलग्न खत्रीको विभिन्न संघसंस्थामा ११ करोड ८६ लाख ७१ हजार रुपैयाँ बराबरको सेयर छ भने उनका निर्माण कम्पनी केबी एन्ड हिमाल ग्रुपको नाममा ९ करोड ५० लाख ५३ हजार रुपैयाँ बराबरको सेयर छ। त्यसैगरी बैंकमा ४५ लाख रुपैयाँ नगद छ।
मन्त्री खत्रीले ३० करोड ३८ लाख ९८ हजार रुपैयाँ ऋण देखाएका छन्। खत्री आफ्नै नाममा र उनका कम्पनी केबी एन्ड हिमाल ग्रुप र प्रदीप कन्स्ट्रक्सन सेवाको नाममा ऋण रहेको उल्लेख गरिएको छ।
अन्य मन्त्री पनि जग्गामा धनी
भौतिक पूर्वाधार विकासमन्त्री खत्रीका साथै अन्य मन्त्री पनि जग्गामा धनी देखिएका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसँग जुम्लामा दुई सय २४.४३ कठ्ठा जग्गा आफ्नो सम्पत्ति विवरणमा देखाएका छन्। यद्यपि उक्त जग्गा उनको मात्र नभई बुवाको नाममा रहेको र अंशबन्डा हुन बाँकी रहेको उल्लेख गरेका छन्।
यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको नाममा डोल्पामा एक सय ४८ कठ्ठा जग्गा छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालासँग ८ सय ५३ वर्गमिटर जग्गा छ भने उनकी आमा टिकी साहुको नाममा २४ कठ्ठा र भाइ बलबहादुर साहुको नाममा २३ कठ्ठा तथा भतिज सन्तोष बिसीको नाममा ६ कठ्ठा जग्गा छ।
कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित सात जना मन्त्रीमध्ये सबैभन्दा कम सम्पत्ति विवरण पेश गर्ने मन्त्री हुन्, विमला केसी। सार्वजनिक विवरण अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसीसँग सुन छैन। तर, उनको नाममा रुकुम, दाङ र सुर्खेतमा गरी ८.२८ कठ्ठा जग्गा छ।
आफ्नो नाममा सबैभन्दा कम जग्गा भएका मन्त्री हुन्, दल रावल। सामाजिक विकास मन्त्री रावलको नाममा सुर्खेतमा १६ धुर जग्गा छ। त्यसैगरी बुवा जयरुप रावलको नाममा हुम्लामा ५९ कठ्ठा जग्गा उनले आफ्नो सम्पत्ति विवरणमा देखाएका छन्।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने आफ्नो नाममा जग्गा नभएको जनाएका छन्। उनले कालिकोटमा बुवा धनबहादुर शाहीको नाममा अंशबन्डा नभएको ७३ कठ्ठा र कैलालीमा श्रीमती चन्द्राकुमारी शाहीको नाममा ५० कठ्ठा जग्गा रहेको विवरण पेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।