काठमाडौं- माधवकुमार नेपालपक्षमा रहेको भन्दै निर्वाचन आयोगमा पुगेका चार जना एमाले नेताको नयाँ दल दर्ताका लागि सनाखत नहुने भएको छ।
नेकपा (एमाले)बाट विभाजन भइ गठन भएको नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिँदा तटस्थ रहेका चार नेताले आज आफूहरु नयाँ पार्टीमा रहेको भन्दै आयोगमा निवेदन दिएका थिए। आयोगले उनीहरुको सनाखत नगर्ने निर्णय गरेको हो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल विभाजनको निवेदन दर्ता गर्ने बेला हस्ताक्षर नगरेका कारण उनीहरुको सनाखत गर्न नमिल्ने बताए। प्रतिनि सभा सदस्यद्वय सोमप्रसाद पाण्डे र माया ज्ञवाली, राष्ट्रिय सभा सांसद शारदादेवी भट्ट र राजन राईले आयोगमा निवेदन दिएका हुन्। पाण्डे र राई एमालेका केन्द्रीय सदस्य हुन्।
उनीहरू आज आयोगमा गएर आफूहरू नेकपा एकीकृत समाजवादीमा आबद्ध भएको लिखित जानकारी गराएका थिए।
वरिष्ठ नेता झलनाथ खनालले पनि सनाखत गर्न नपाउने भएको छ। हाल उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीमा रहेका नेता खनालले भारतस्थित नेपाली दूतावासमार्फत् नयाँ पार्टी दर्ताको लागि सनाखत गराउन पाउनुपर्ने माग गर्दै आयोगलाई पत्र लेखेका थिए। तर, आयोगले भने सशरीर उपस्थित नहुनेको सनाखत नगर्ने निर्णय गरेको हो।
एमाले विभाजन गरी नयाँ पार्टी (नेकपा एकीकृत समाजवादी) दर्ता गर्न आयोगले बुधबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि उपस्थित हुन भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।