काठमाडाैं– नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विवाद टुंग्याउन नीतिगत सहमति गरिएको छ। विवाद टुंग्याउन गरिएका सहमतिमा भने शीर्ष नेताहरु नै अनभिज्ञ रहेका छन्। क्रियाशील सदस्यताको विवादमा समाधान निकाल्न तीन सदस्यीय कार्यदल बनाइएको थियो। नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले सोमबार प्रतिवेदन बुझाएको छ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यदलले सोमबार राति प्रतिवदेन बुझाएको थियो। उक्त प्रतिवदेनमा समेटिएका विषयमा पार्टीका नेताहरुहरु जानकारी गराइएको छैन। ‘प्रतिवेदन बुझाइएको भन्ने खबर मिडियाबाट थाहा पाएको हो। नीतिगत सहमति भनिएको छ। कुन आधारमा क्रियाशील सदस्यताको विवाद टुंगाइएको बारे जानकारी छैन,’ नेता अर्जुननरसिंह केसीले भने।
क्रियाशील सदस्यता छानविन समितिले दिएको प्रतिवेदनमा विवाद देखिएपछि कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले तोकिएको समयसीमा भन्दा चार दिन ढिलो प्रतिवेदन बुझाएको हो।
क्रियाशील छानविन समितिले करिब ९८ प्रतिशत कार्य सकेको जनाएको थियो। करिब एक सय वडामा समितिले टुंग्याउन सकेको थिएन। उक्त वडाहरुमा १३ औं महाधिवेशनका प्रतिनिधि कायम गरी अधिवेशन गर्न समितिको सुझाव थियो।
बारा र सप्तरीमा क्रियाशील छानविन नै सुरु गरिएको थिएन। धनुषा र सर्लाहीका १/१ क्षेत्रमा पनि क्रियाशील सदस्यता टुंगिन सकेको थिएन। रसुवा र सिन्धुपाल्चोकमा अन्य दलबाट आएकाको समयोजन पछि क्रियाशील सदस्यता वितरणमा विवाद छ।
यता, क्रियाशील सदस्यताको सूची प्रकाशनको माग गर्दै वरिष्ठ नेता पौडेल पक्षले आजदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।