काठमाडौं– नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विवाद टुंग्याउन कार्यदलका सदस्यहरुले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गर्ने भएका छन्।
कार्यदलका सदस्यहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकले सोमबार बेलुकी देउवा र पौडेलसँग छलफल गर्न लागेका हुन्। सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा नेताहरुबीच छलफल हुन लागेको हो।
क्रियाशील सदस्यताको सन्दर्भमा देखिएको विवाद समाधान गर्नेगरी सभापति र वरिष्ठ नेतासँग छलफल गर्न लागिएको कार्यदलका सदस्यहरुको भनाइ छ।
पछिल्लो पटक बसेको केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको विवाद समाधानका लागि सिटौला, रिजाल र लेखक रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको थियो। केन्द्रीय समिति बैठकले भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी कार्यदललाई दिएको थियो।
कार्यदलले क्रियाशील सदस्यताको विवाद टुंग्याउने खाकासहितको प्रतिवेदन तयार पारिसकेको जनाइएको छ। तर, 'प्राविधिक विषय' टुंग्याउन बाँकी रहेको भन्दै सभापति देउवालाई उक्त प्रतिवेदन बुझाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।