काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील सदस्यता टुंग्याउन बनेको कार्यदलले सोमबार पनि आफ्नो कार्य नसकेको बताइएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई कार्यदलले क्रियाशील सदस्यताको विवाद टुंगाएर आइतबार प्रतिवेदन बुझाउने भनिएको थियो। कार्यदलमा रहेका सदस्यहरुबीच मतैक्यता हुन नसकेपछि प्रतिवेदन बुझाउने समय सोमबारका लागि सारिएको थियो।
तर, सभापति देउवालाई प्रतिवेदन बुझाउनका लागि कार्यदलले सोमबार समय नलिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलमा सहमति हुन नसकेको बताइएको छ। तीन नेताबीच निरन्तर छलफल भएपनि सहमतिको विन्दु फेला नपरेको बताइएको छ।
अन्य दलबाट कांग्रेस प्रवेश गरेकालाई क्रियाशील सदस्यता वितरणमा विवाद रहेको छ। साथै, नवीकरणमा पुराना क्रियाशील सदस्यता नियतवश हटाइएको आरोप पनि संस्थापनइतरको छ।
भदौ ३ भित्र सहमति पहिल्याएर प्रतिवेदन बुझाउन केन्द्रीय समितिले नेतात्रयलाई जिम्मेवारी दिएको थियो। कार्यदललाई दिइएको अवधि चार दिन घर्किसकेको छ।
भदौ १८ मा वडा तहको अधिवेशन गर्ने गरी कार्यतालिका बनेको छ। क्रियाशील सदस्यताको विवादले उक्त कार्यतालिका पनि आशंका हुने डर कांग्रेस भित्र छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।