बर्दिवास– ‘हजुर, आब हमसभ केकर भरोसा मे जियब?’ (हजुर, अब हामी कसको भरोसामा बाँच्नु?), आफ्नो आसाभरोसाको एक मात्र छोरा अनिल चौधरीलाई कतारमा मृत्युदण्ड दिने त्यहाँको अदालतको आदेशले विह्वल बनेकी महोत्तरी जिल्लाको औरही नगरपालिका–१ की करीब ५० वर्षीया देवी चौधरीले बुधबार बिहान सञ्चारकर्मीसँग पिडा सुनाइन्।
वैदेशिक रोजगारीका क्रमममा सन् २०१५ को अगष्ट महिनामा कतार गएका २३ वर्षीय अनिललाई कतारी नागरिक उमेर मोहम्मद उमेर अल रमजालनी अल नाउयोमीको हत्या अभियोगमा करीब तीन महिनाअघि गत मार्चमा त्यहाँको प्रारम्भिक अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। अदालतले गोली हानेर मृत्युदण्डको कार्यान्वयन गर्ने आदेश जारी गरेपछि औरही–१ को चौधरी परिवार चिन्तामा डुबेको हो।
‘नई हजुर, हमर बौवा बड सज्ञान अई, उ ककरो माइर नई सकैछै’ (होइन हजुर मेरो बाबु धेरै ज्ञानी छ, उसले कसैलाई मार्नै सक्दैन), देवीले भक्कानिँदै भनिन्,‘ओकरालेल किछ सोइच दिय, हमसभ बौवाक् साथ में बुढारी काइट सकी।’ (तपाइँहरुले उबारे केही सोची दिनुस्, हामी छोराको साथमा बुढ्यौली काट्न सकौँ।)
अनिललाई दिइएको मृत्युदण्डको फैसला कार्यान्वयन गर्न त्यहाँको प्रारम्भिक अदालतले आदेश गरेको खबर फैलिएपछि अहिले औरही–१ स्थित भाडामा बसेका चौधरी परिवारको डेरा अगाडि आफन्त, छरछिमेकको आवतजावत बढेको छ। आफूहरुप्रति सहानुभूति दर्साउन आउने जोसुकैसँग अनिलका बाबु करीब ६० वर्षीय श्यामकिशोर चौधरी र आमा देवी बिलौना गर्दागर्दै मुर्छा पर्छन्।
‘दुनु बेटीके सादी कैलावाद सब भरोसा ओकरे में टिकल छल, मुदा भगवान् के हमरा सभक खुशी मञ्जुर नई भेल’ (तीन सन्तानमध्ये दुई छोरीको विवाहपछि सबै आशा उसमैं टिकेको थियो, तर भगवानलाई हाम्रो खुसी मञ्जुर रहेनछ), बाबु श्यामकिशोर चौधरीले बिलौना गर्दै उपस्थितसँग भने,‘अहाँ सभगोटे ओकर कल्याणक लेल पुकारा किया दियौँ, जे हमर बेटा के हमसभ देख पावी।’ (तपाइँहरु सबैले उसका लागि पुकारा गरी दिनोस्, ताकि हामी छोरा हेर्न पाउँ।)
आफ्नो घर ढलेपछि नजिकै एउटा कोठा भाडामा लिएर ठेलागाडामा व्यापार गरेर गुजारा चलाउँदै आएका श्यामकिशोरको ठेला अब थन्किएको छ। दिनहुँ अनिलबारे चासो राख्दै आफन्त र शुभचिन्तकको ओइरो लागेपछि यो परिवार झन् विह्वल हुने गरेको छ।
‘एत्त सभ के देखैछी, मुदा हमर बौवा नइ अई, कि जानु हे भगवान् कोन दिन देखलेल हमरा जीवित रखने छह।’ (यहाँ अरु सबै देख्दैछौँ, तर हाम्रो बाबु छैन, के जानौँ हे भगवान्, कस्तो दिन हेर्न हामीलाई जिउँदो राखेका छौ।’
बिलौना गर्दे दिन बिताउने यी दम्पतीलाई आफ्नो छोरो निर्दोेष भएकाले न्याय पाउने आश भने मरेको रहेनछ।
‘निचका अदालत के फैसला मे अपन कतार में रहवाला नेपाल के हाकिमसभ उपरी मुद्दा पहुचौने अई’ (त्यहाँको तल्लो अदालतको फैसला हाम्रा कतार बस्ने नेपाली हाकिमले माथिको अदालत पुर्याएका छन्), बाबु श्यामकिशोरले आँगनभरि जम्मा भएका आगन्तुकलाई छोरालाई लागेको मुद्दाको अवस्थाको बारेमा भने,‘अहाँँसभ एत्त स ओत्ततक पहल किया दियौँ, हमर बौवा चैल आओत’ (तपाइँहरु यहाँ काठमाडौँदेखि वहाँ कतारसम्म पहल गरी दिनोस्, हाम्रो बाबु अवश्य आउँछ।)
कतारको जेलमा रहेका छोरा अनिलले आफू निर्दोष रहेको बताउँदै आएको र कतारस्थित नेपाली राजदूतावासले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको भन्ने सुचना पाएको यो दम्पतीले सर्वोच्चबाट न्याय पाएर छोरा छुट्ने आशा मारेका छैनन्।
पछिल्लो पटक परराष्ट्र मन्त्रालयले सर्वोच्चमा मुद्दा लड्ने खर्च जुटाएर दूतावासलाई पठाएको कुरा थाहा पाएपछि छोरो छुटेर आउने आश चौधरी दम्पतीले सँगालेको औरही–१ का सामाजिक कार्यकर्ता सरोज यादव बताउँछन। ‘उ असल र मेहनती युवा हो, उ निर्दोष सावित भएर फर्कने कुरामा उसका बाबुआमा र हामी छिमेकीको आश मरेको छैन।’ यादवले भने।
ढलेको घर रहेको ठाउँमा सातधुर घडेरी र चौडीमा सात कट्ठा जग्गा भएको चौधरी दम्पतीको भरणपोषण भने अनिलले पठाउने रकमबाट हुँदै आएको थियो। सन् २०१७ को अप्रिलमा पक्राउ पर्नुअघि साढे ३ लाख रुपैयाँ रकम अनिलले पठाएको बाबु श्यामकिशोरले बताए। पठाएको पैसाले ऋण तिरेर आफूहरुको खानेबस्ने खर्च पनि चल्न पुग्ने भएपछि अब आउने रकम सञ्चित गर्नुपर्ला भन्ने सोचेका चौधरी दम्पतीलाई छोराको अवस्थाले दयनीय अवस्थामा पुर्याएको छ।
‘कि लिखल हई भाग में, कि जानी’ (के लेखिएको छ, भाग्यमा के जानौँ), छाति पिट्दै रोइरहेकी पत्नी देवीलाई फुल्याउँदै श्यामकिशोरले ढाडस दिँदै भने, ‘भगवान में भरोसा करु, सब ठिक भजायत’ (भगवानमा भरोसा गर, सब ठीक हुन्छ।)
नेपालबाट कामका लागि कतार पुगेका अनिल त्यहाँको एक कम्पनीमा लेवरको रुपमा कार्यरत थिए। अहिले कतारस्थित नेपाली दूतावासले अनिलको जीवनरक्षाका लागि कतारको सर्वोच्च अदालतमा अपिल गरेको छ।
कतारस्थित नेपाली दूतावासले नेपाल सरकारसँग उनको जीवनरक्षाको लागि पहल गर्न ३० हजार रियाल माग गरेको छ। दूतावासको उक्त प्रस्तावबारे परराष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा छलफल भइरहेको सूचना आफूले पाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जानकारी दिए। (गोपालप्रसाद बराल/रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।