काठमाडौं- स्वास्थ्य चेतना फैलाउने उद्देश्यले निर्मित टेलिसिरियल 'जीवन चक्र' प्रशारण थालिएको छ। मनोज पण्डितको लेखन र निर्देशनमा बनिरहेको सिरियलले समस्याको मूलकारण स्वास्थ्य समस्या रहेको चित्रित गरेको छ।
नेपाल टेलिभिजनमा प्रशारण भइरहेको टेलिसिरियलका सुरुवाती शृंखला कर्णाली प्रदेशको मुगुमा छायांकन गरिएको छ । 'जीवन चक्र'मा स्थानीयले पनि अभिनय गरेका छन् । 'स्वास्थ्यचौकीमा भूत बस्छ' भन्ने जनविश्वासका कारण बन्द हुन पुगेको उक्त स्वास्थ्यचौकी खोल्न गाउँ पुगेका स्वास्थ्यकर्मीको भूमिका विशाल पोख्रेलले अभिनय गरेका छन्।
कर्णाली सिरिजपछि सुदूरपश्चिम शृंखला, त्यसपछि मधेस र अन्त्यमा शहर शृंखलाका रुपमा 'जीवन चक्र' निर्माण हुने बताइएको छ।
स्वास्थ्यका गम्भीर र जड विषयहरुमा केन्द्रित रही युनिसेफको सहयोगमा स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रले उक्त शृंखला निर्माण गरेको हो। अल थ्री मिडिया घरले प्राविधिक व्यवस्थापन गरिरहेको छ।
जीवन चक्र समाजका समस्या समाधान गर्न मार्गदर्शन गर्ने निर्देशक पण्डित बताउँछन्। उनी भन्छन्, 'यो सिरिज चेतनालाई आत्मसाथ गर्नका लागि हेर्नुपर्छ। चेतनाको विकासलाई केन्द्रमा राखिएको भएपनि मनोरञ्जनलाई बेवास्ता गरिएको छैन।'
'के तापाईं स्वस्थ हुनुहुन्छ?' मुख्य अवधारणा रहेको टेलिशृंखलाका लागि अध्ययन अनुसन्धान गर्दै जाँदा समाजमा पूर्ण स्वस्थ मानिस भेटाउन गाह्रो भएको उनी बताउँछन्।
'हामी सबै अस्वस्थ छौ। भौतिक स्वास्थ्यको लागि केही पहल भएपनि मानिसको स्वास्थ्यमा हामी सबैको ध्यानाकर्षण पुगेको छैन,' उनले भने।
नेपाल टेलिभिजनमा हरेक आइतबार ७:२५ बजे प्रशारण हुँदै आईरहेको 'जीवन चक्र'को छायांकन डोरबहादुर कटुवाल, सम्पादन सन्तोष दवाडी र संगीत पुष्कर महतोले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।