साहित्य पठनको स्थिति कस्तो छ? यो प्रश्न स्रष्टा, प्रकाशक र पाठकले निरन्तर उठाइरहेको पाइन्छ। साहित्य लेखेर र प्रकाशन गरेर आर्थिक रुपमा सबल हुने अवस्था अझै बनेको छैन। केही स्रष्टा र प्रकाशकहरुबाहेक अधिकांश साहित्यिक कृति लेखेर र प्रकाशन गरेर मात्र आर्थिक रुपमा आत्मनिर्भर हुन सकेका छैनन्।
स्रष्टाहरुले सिर्जनासँगसँगै अन्य काम पनि गर्नुपर्छ। प्रकाशकहरुले साहित्यबाहेकका कृति पनि छाप्नुपर्छ। यस्तो स्थितिमा स्रष्टाहरुलाई लेख्नका निम्ति पर्याप्त समय दिन गाह्रो छ। यसको असर अध्ययन, चिन्तन, साधना र रचनाको स्तरीयतामा पर्नु स्वाभाविक छ। लेखनलाई पर्याप्त समय दिन नसक्नु भनेको साहित्यिक कृतिहरुको गुण र परिमाण दुवै प्रभावित हुनु हो।
नेपाली साहित्यको इतिहास पौने दुई सय वर्षभन्दा लामो भए पनि नेपाली साहित्यका कृति माध्यमिककालदेखि मात्र प्रकाशन हुन थालेका हुन्। साहित्यिक कृतिहरुको प्रकाशनको आरम्भ निजीस्तरबाट भएको थियो। गोरखा भाषा प्रकाशनी समितिको स्थापनापछि साहित्यिक कृतिहरुको प्रकाशनमा केही वृद्धि भयो। २००७ सालपछि भने साहित्यिक कृतिहरु अलि बढी प्रकाशित हुन थालेको पाइन्छ। यसपछि नै कृतिहरुको प्रकाशन व्यवस्थित रुपमा अघि बढ्न सुरु गर्यो। समयक्रममा निजीस्तरबाट प्रकाशन गृहहरु खुल्दै गए।
२०१४ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठान स्थापनापछि यस संस्थाबाट महत्वपूर्ण साहित्यिक कृतिहरु प्रकाशित हुन थाले। अहिले प्रज्ञा–प्रतिष्ठानले अनुसन्धानमूलक, अनूदित र विभिन्न विषयसँग सम्बन्धित सम्पादनमूलक कृतिहरु मात्र प्रकाशित गर्छ।
साझा प्रकाशन साहित्यिक रचनाहरुको प्रकाशन गर्ने र तिनलाई पाठकमाझ पुर्याउने अर्को महत्वपूर्ण संस्था हो। आज यो संस्था आर्थिक रुपमा थला परे पनि साहित्यिक कृतिहरुको प्रकाशन र बिक्रीवितरणमा यसको भूमिका लामो समयसम्म उल्लेखनीय रह्यो। थोरै संख्यामा भए पनि यस संस्थाबाट कृतिहरु प्रकाशित हुँदैछन्। प्रज्ञा प्रतिष्ठानले अहिले अनुसन्धानमूलक, अनुदित र सम्पादनमूलक कृतिहरु मात्र प्रकाशित गर्छ।
आज धेरै साहित्यिक कृतिहरु निजी प्रकाशन संस्थाहरुबाट छापिन्छन्। यस्ता प्रकाशन गृहले साहित्यिक कृति प्रकाशनको सबैभन्दा गह्रौँ भारी बोकेका छन्। स्रष्टाहरु स्वयंबाट पनि धेरै कृति प्रकाशित भएका पाइन्छन्। प्रकाशन संस्थाहरुले प्रकाशनमा ल्याउन नचाहने वा त्यहाँसम्म पहुँच नभएका स्रष्टाले आफ्नै लगानीमा कृति छाप्छन् र पाठकहरुसम्म पुर्याउन कोसिस गर्छन्। यस्ता कृति प्रायः साथीभाइमाझ बाँडेरै सकिन्छन्। वितरणमा रहने कठिनाइका कारण कृतिहरु धेरै पाठक माझ पुग्न नै पाउँदैनन्। आर्थिक रुपमा यस्ता प्रकाशनबाट स्रष्टाहरुले घाटा बहोर्नुपर्छ। आफैँले कृति प्रकाशित गर्ने निकै कम स्रष्टाले मात्र छापेजति कृतिहरु बेचेर सक्छन्। लगानी त उठ्छ नै केही नाफा पनि हुन्छ। तर, यो कार्य निकै कष्टसाध्य छ र धेरै स्रष्टाले गर्न नै सक्दैनन्।
प्रकाशन गृहहरुको संख्यामा वृद्धि र नयाँ-नयाँ स्रष्टाहरुको आगमनले कृति प्रकाशन बढे पनि परिमाणमा धेरै ठूलो अन्तर आउन सकेको छैन। चल्तीका थोरै लेखकका चल्तीका केही कृतिलाई छोडिदिने हो भने धेरै साहित्यिक कृतिहरु पाँच सयदेखि हजार प्रतिको संख्यामा छापिन्छन्। निकै कम कृतिका मात्र दोस्रो, तेस्रो, चौथो संस्करण पाठकमाझ आउँछन्।
पाठ्यक्रममा राखिएका कृतिहरुको अवस्था अलि फरक छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, भूपि शेरचन, पारिजात, विश्वेश्वरप्रसाद कोइराला आदिका केही कृति अन्य कृतिहरुको तुलनामा बढी छापिन्छन् र बिक्छन्। होइन भने, अहिले पनि एक हजार प्रति बिक्न वर्षौँ कुर्नुपर्छ। साझा प्रकाशन, प्रज्ञा–प्रतिष्ठान जस्ता संस्थाहरुका कयौँ कृतिहरु वर्षौँदेखि नबिकेर थन्किएका छन्।
आख्यानात्मक र निबन्धात्मक कृतिहरु तुलनात्मक रुपम बढी बिक्छन्। कविता जुन अनुपातमा लेखिन्छ र कृतिका रुपमा प्रकाशित हुन्छ, त्यस अनुपातमा निकै कम बिक्छ। प्रकाशकहरु कविताका कृति छाप्न त्यति जाँगर देखाउँदैनन्। कति प्रकाशकहरु त स्रष्टाको लगानीमा मात्र कविताका कृति छाप्न तयार हुन्छन्। केही बिकेकालाई छाडिदिने हो भने कविता कृतिहरुको प्रकाशन र बिक्रीको यथार्थ यही हो।
वास्तवमै साहित्यिक कृतिहरुको प्रकाशन र बिक्रीको समग्र तस्बिर उत्साहप्रद छैन। पाठकहरुको संख्यामा धेरै वृद्धि भएको पाइन्न। साहित्यिक कृतिहरुको पठनको विस्तारका दृष्टिले हामीले धेरै ठूलो फड्को मार्न सकेका छैनौँ। कसैकसैको साहित्य पठनको तस्बिर धेरै बदलिएको छ भन्ने भनाइ यथार्थसँग त्यति मेल खाँदैन।
राणा शासनको अन्त्य भएर यहाँसम्म आइपुग्दा हामीले सात दशक बिताएका छौँ। यो सात दशकमा धेरै कुरा फेरिएका छन्। शिक्षितहरुको संख्या बढेको छ, चेतनाको क्षितिज फराकिलो भएको छ, बाह्य संसारसँगको सम्बन्ध विस्तारित भएको छ र रहनसहन खानपान लगायत जीवनशैलीका कयौँ पक्षहरुमा परिवर्तन भएको छ। प्रविधिको विकास र विस्तारका कारण समाजको चित्र फेरिएको छ। यी सबैको प्रभाव साहित्यको पठन विस्तारमा पर्नुपर्ने हो। तर, पर्न सकेको छैन।
पठनको विस्तार नभएको भने होइन, तर धेरै प्रशंसा गर्न सकिनेस्तरमा छैन। समयानुसार साहित्यको पठनमा विस्तार किन हुन सकेको छैन? साहित्यप्रति व्यापक अभिरुचिको निर्माण अझै किन हुन सकेन? पठन संस्कृतिको विकासका दृष्टिले हामी किन पछि छौँ? स्रष्टा, प्रकाशक र साहित्यलाई माया गर्नेहरुका अगाडि उपस्थित यी गम्भीर प्रश्नहरु हुन्।
पठन संस्कृति र साहित्यको पठनको विस्तारबीचमा गहिरो साइनो छ। पठनमा विस्तार किन हुन सकेको छैन, कृतिहरु किन कम बिक्छन् जस्ता प्रश्नहरु पठन संस्कृतिसँग जोडिएका छन्। हामीकहाँ पठन संस्कृतिको लामो र समृद्ध इतिहास छैन। अहिले पनि पठन संस्कृतिको राम्रोसँग विकास हुन सकेको छैन। शिक्षितहरुको संख्या यहाँसम्म आइपुग्दा निके बढेको छ। तर, शिक्षितहरुको संख्या बढ्दैमा पठन संस्कृति नमौलाउँदो रहेछ।
केही दिन पहिले एफफिलमा भर्ना हुन चाहने विद्यार्थीहरुलाई सोधिएको प्रश्न र उत्तर सामाजिक सञ्जालमा भाइरल भयो। विद्यार्थीहरु कोर्सबाहिरको आफूले पढेको एउटा पुस्तकको नाम भन्न पनि अनकनाए। यसले हाम्रो पठन संस्कृतिको चित्र अगाडि राख्छ। औपचारिक शिक्षा प्राप्त गर्दैमा पठन संस्कृतिको विकास नहुँदोरहेछ भन्ने दृष्टान्त हो, यो।
पठन संस्कृतिको तात्पर्य पठनलाई जीवनको अनिवार्य अङ्ग बनाउनु र त्यो औपचारिक शिक्षा आर्जन गर्नका निम्ति गरिने अध्ययनभन्दा पर पुग्नु हो। पठन संस्कृतिको विकासका निम्ति पठन जीवनको दिनचर्या बन्न सक्नुपर्छ। तर, हाम्रा हजारौँ पढेलेखेका मानिसका घरमा एक दुई दर्जन पुस्तक पाउन पनि गाह्रो पर्छ। कतिले अलिअलि पुस्तक त राख्छन् तर, पढ्दैनन्। ती दराजको शोभा मात्र बन्छन्। कैयौँ पढेलेखेकाहरुको घरमा खाली समयमा पढ्नका निम्ति पुस्तक नपाएर हाइ काढ्दै बस्नुपरेका एक होइन, दर्जनौँ स्मृतिहरु यस पङ्तिकारसँग छन्। कैयौँ पढैयाहरुमा साहित्यप्रति पटक्कै रुचि पाइन्न।
यति धेरै शिक्षितहरु भएको मुलुकमा राम्रा भनिएका पुस्तक पहिलो संस्करणमै बीस पच्चीस हजारप्रति बिक्नु पर्ने हो र तिनका विभिन्न संस्करणहरु निस्कनुपर्ने हो। तर, यसो हुन सकेको पाइन्न। पठन संस्कृतिको विकासका दृष्टिले आज पनि हामी पश्चिमा देशभन्दा ५०औँ वर्ष पछाडि छौँ।
यति धेरै शिक्षितहरु भएको मुलुकमा राम्रा भनिएका पुस्तक पहिलो संस्करणमै बीस पच्चीस हजार प्रति बिक्नु पर्ने हो र तिनका विभिन्न संस्करणहरु निस्कनुपर्ने हो। तर, यसो हुन सकेको पाइन्न। पठन संस्कृतिको विकासका दृष्टिले आज पनि हामी पश्चिमा देशभन्दा ५०औँ वर्ष पछाडि छौँ। हाम्रो पठन संस्कृतिको स्थिति छिमेकी भारतको भन्दा पनि कमजोर छ।
पठन संस्कृतिको विकासका निम्ति समाजको सचेत समुदाय एवं राज्यको महत्वपूर्ण भूमिका रहन्छ। फर्किएर हेर्दा यो भूमिका राम्रोसँग निर्वाह हुन सकेको पाइँदैन र आज पनि यो भूमिका कमजोर छ। मानिसको आभ्यान्तरिक रुपान्तरण पठन संस्कृतिको विकासका निम्ति आवश्यक छ। आभ्यान्तरिक रुपान्तरणका निम्ति सांस्कृतिक रुपान्तरण जरुरी हुन्छ। सांस्कृतिक रुपान्तरणलाई हामीले महत्व नै दिन सकेका छैनौँ। पठनको महत्वबोधले नै मानिसलाई पठनतिर डोर्याउँछ र पढ्ने संस्कृतिको विकास हुन्छ।
हामी डरलाग्दो उपभोक्तावादको बीचमा छौँ। उपभोक्तावादलाई पुँजीवादको उत्पादनका रुपमा लिइन्छ। पुँजीवादलाई टिकाउन र बलियो बनाउन उपभोक्तावादको धेरै ठूलो भूमिका छ। उपभोक्तावादविना पुँजीवादको जीवनचक्र नै सम्भव छैन।
उपभोग र उपभोक्तावाद एउटै होइन। उपभोक्तावाद विचारधाराका रुपमा रहेको छ र यो हाम्रा अगाडि मुलतः संस्कृतिका रुपमा छ। यसलाई उपभोक्तावादी संस्कृति भनिन्छ। यसको एउटा महत्वपूर्ण विशेषता मानिसलाई उपभोक्तावादी बनाउनु हो। उपभोक्तावादी संस्कृतिको प्रभावका कारण मानिस वस्तु लिप्साको सिकार बन्छ। वस्तुको बढीभन्दा बढी उपभोगमै उसले आफ्नो गरिमा र सौन्दर्य देख्न थाल्छ। आज हामी वित्तीय पुँजी, बजार र उपभोक्तावादले निर्माण गरेको डरलाग्दो परिदृश्यका माझमा छौँ। यो तीन कुराले मनुष्य विरोधी एक भिन्न यथार्थको निर्माण गरेका छन्।
वाल्टर बेञ्जामिनको शब्दमा भन्दा उपभोक्तावादी संस्कृतिले मनुष्यको ‘सामूहिक अवचेतन’लाई नियन्त्रण गरेको छ। मनुष्यको विचार जगत, तार्किक क्षमता, विश्लेषणात्मक क्षमता र उसका सुन्दर स्मृतिहरुलाई उपभोक्तावादी संस्कृतिका माध्यमबाट नियन्त्रण गर्दै भिन्न दिशा दिने प्रयत्न गरिँदै आइएको छ। मनुष्यको विचार जगतलाई पुँजीको हित अनुकूल हुने गरी नियन्त्रण गर्ने यस्तो प्रयासलाई कैयौँ चिन्तकहरु मानिसमाथिको सबैभन्दा ठूलो प्रहारका रुपमा लिन्छन्।
बजार र उपभोक्तावाद वर्चस्वकारी रहेको आजको संसारमा मनुष्यलाई नभए पनि हुने वस्तुको निर्माण पहिल्यै गरिन्छ र त्यसपछि त्यसलाई आवश्यकतामा बदल्ने धन्दा सुरु हुन्छ। केनेथ गिलबर्टको ‘आवश्यकताका कारण उत्पादन पनि हुन्छ’ भन्ने भनाइलाई चुनौती दिँदै बौद्रिलार्डले ‘वस्तु आवश्यकताभन्दा पहिल्यै उपस्थित हुन्छ, आवश्यकतापछि निर्माण गरिन्छ’ भनेका छन्। उत्पादनका शक्तिहरुले नै मनुष्यको आवश्यकता निर्माण गर्छन् भन्ने बौद्रिलार्ड उपभोग एक विचारधारा र सम्प्रेषणको व्यवस्था भएको उल्लेख गर्छन्।
अहिले म फ्र्यान्क ट्रेन्टमानको ‘एम्पायर अफ थिङ्स’ पढ्दैछु। पाँच वर्षअघि प्रकाशित यस पुस्तकले हामीलाई वस्तुहरुको संसारतिर लिएर जान्छ र हाम्रो जीवनमा परेको तिनको प्रभावलाई प्रस्तुत गर्छ। हामी उपभोक्तावादबाट डसिएका छौँ र हाम्रो पठन संस्कृति पनि यसबाट प्रभावित छ। उच्च र मध्यम वर्ग उपभोगका निम्ति प्रशस्त खर्च गर्न तयार छ, तर पुस्तकका निम्ति थोरै खर्च गर्न पनि तयार छैन। उपभोगका निम्ति उसँग समय छ, तर पठनका निम्ति छैन। उपभोक्तावादी संस्कृतिमा पठन पहिलो त के पाँचौं, छैठौँ तहको प्राथमिकतामा पनि पर्दैन। यस्तो स्थितिमा न पठन संस्कृतिको विकास हुन्छ न त साहित्यका पाठकहरु नै अपेक्षा अनुसार बढ्छन्।
प्रविधिको विकासले पनि साहित्यको पठनलाई प्रभावित गरेको छ। हातहातमा मोबाइल छन्, घरघरमा कम्प्युटर टीभी छन्। ती सामग्रीबाट मनोरञ्जनका विविध कार्यक्रम हेर्न सकिन्छ। यसलाई प्रयोग गर्ने ठूलो संख्याले यसैबाट मनोरञ्जन लिन्छ र आफ्ना सौन्दर्यात्मक आवश्यकताहरु पूरा गर्छ।
प्रविधिको विकासले पनि साहित्यको पठनलाई प्रभावित गरेको छ। हातहातमा मोबाइल छन्, घरघरमा कम्प्युटर टीभी छन्। तीबाट मनोरञ्जनका विविध कार्यक्रम हेर्न सकिन्छ। यसलाई प्रयोग गर्ने ठूलो संख्याले यसैबाट मनोरञ्जन लिन्छ र आफ्ना सौन्दर्यात्मक आवश्यकताहरु पूरा गर्छ। अन्य सामग्रीहरु पनि यीबाट पढ्न, हेर्न र सुन्न सकिन्छ। प्रविधिको लतले धेरै मानिसको पठन नै गम्भीर रुपमा प्रभावित भएको पाइन्छ।
प्रिन्ट सामग्रीहरुको ठाउँमा आउँदै गरेका डिजिटल सामग्रीहरुले पनि मानिसलाई त्यता आकर्षित गरेको देखिन्छ। प्रविधिको विकासका कारण आएको यो परिवर्तन भविष्यमा अझ तीव्र हुने कयौँ चिन्तकहरु बताउँछन्। यसमा सत्यको ठूलो अंश पनि छ। खासगरी प्रविधिप्रतिको अतिशय लगाव र यसले निर्माण गरेको मनोविज्ञान साहित्यको पठनको विस्तारमा अवरोधका रुपमा रहेको छ।
साहित्यको पठन विस्तारमा स्तरीय रचनाहरुको महत्वपूर्ण भूमिका हुन्छ। यस्ता रचनाहरुले पाठकसँग संवाद गर्न सक्छन्। आफू बाँचेको समय एवं जीवन र जगतका विविध पक्षलाई सरल, सरस र कलात्मक अभिव्यक्ति दिनु स्तरीय रचनाहरुको विशेषता हो। साहित्यको समाजपरक र सौन्दर्यपरक भूमिकालाई केन्द्रमा राखेर रचिने स्तरीय साहित्यले नै पाठकसँग सार्थक संवाद गर्न सक्छन्। पाठकले आफूसँग संवाद गर्न सक्ने रचनाहरु पढ्न रुचाउँछन्।
अहिले प्रकाशित भइरहेका निकै कम कृति मात्र स्तरीय छन्। धेरै कृति कमजोर छन् र तीप्रति पाठकको ध्यान छैन। सञ्चारमाध्यम र समीक्षकहरुले राम्रा भनेर प्रचार गरेका कृति प्रचार गरेजस्तो नपाउँदा पाठकहरु झस्कन्छन्। आफू ठगिएको अनुभव गर्छन्। यसले साहित्यप्रतिको आकर्षणलाई प्रभावित गर्छ। वास्तवमा बजारले स्रष्टाहरुलाई आफू अनुकूल हिँडाउन खोज्दैछ र के लेख्ने/नलेख्ने निर्देश गर्दैछ।
साहित्यको पठन विस्तारमा प्रकाशक र साहित्यिक संस्थाहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ। सञ्चारमाध्यमहरुले यसमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। अर्को महत्वपूर्ण माध्यम शैक्षिक संस्थाहरु पनि हुन्। भाषा साहित्यप्रति अभिरुचि निर्माणमा शैक्षिक संस्थाहरुको भूमिका सबैभन्दा अब्बल रहन्छ। यी सबै संस्थाहरुले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहे पनि पर्याप्त छैन। त्यहीकारण साहित्यको पठन विस्तार मात्र होइन समग्र पठन संस्कृति नै प्रभावित हुनु स्वाभाविक छ।
साहित्यको पठन विस्तारमा देखिने यस्ता गौंडा गल्छेडाहरु नै आजका चुनौती हुन्। यी चुनौतीहरुको सामना जति प्रभावकारी रुपमा गर्न सकिनेछ, साहित्यको पठनमा पनि त्यति नै विस्तार हुँदै जानेछ। पठन संस्कृतिको विकासले आजको कटु यथार्थलाई बदल्नेछ।
अहिले पनि उपभोक्तावादले निर्माण गरेको मनोविज्ञान र प्रविधिको विकासका कारण निर्माण भएको स्थितिलाई चिर्दै अघि बढ्न सजिलो छैन। साहित्यको पठनबारे हामीले पटक–पटक गर्ने प्रश्नहरुको समुचित उत्तर यिनै सन्दर्भमा खोज्न कोसिस गर्नुपर्छ। पठन संस्कृतिको विस्तार र साहित्यको पठनको विस्तारका सन्दर्भमा हामीले अरु पनि कारणहरु प्रस्तुत गर्न सक्छौँ, तर चर्चाका मुख्य सन्दर्भहरु यिनै हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।