काठमाडौं– संघीय संसदका सदस्यहरुलाई विदेशी दातृ निकायको सहयोगमा अभिमुखीकरण तालिम दिएकोप्रति सरकारका मन्त्री र सांसदहरुले नै आलोचना गरेका छन्।
बुधबारदेखि संसद् भवन बानेश्वरमा सुरु भएको तालिमप्रति लक्षित गर्दै कानुनमन्त्री शेरबहादुर तामाङले सार्वजनिक कार्यक्रममै सो कार्यको आलोचना गरे। युएनडिपीको आयोजनामा सांसदहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गरिएको हो।
कानुनमन्त्री तामाङले संसदभित्र विदेशी सहयोगमा कार्यक्रम र तालिम सञ्चालन गर्न गैरकानुनी भएको टिप्पणी गरे। सरकारसँगै आर्थिक स्रोत भएको अवस्थामा विदेशी सहयोग लिनु गलत भएको उनको भनाइ थियो।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सांसद भीम रावलले युएनडिपीको पैसामा भएको कार्यक्रमप्रति सामाजिक सञ्जाल ट्विटरमा आलोचना गर्दै नेपालको मर्यादा झुकाउने कार्य भएको टिप्पणी गरेका छन्।
‘सांसदहरूलाई प्रशिक्षण दिनुपर्ने भए स्रोत र जनशक्ति नेपालमै छन्’, उनले लेखेका छन्, ‘विदेशी गुहारेर नेपालको विधायिकाको मर्यादा घटाउने र नेपालको स्वाभिमान झुकाउने काम कसैले नगर्नु देश र जनताप्रतिको इमानदारी हो।’

संघीय संसद् सदस्यका लागि बुधबार सुरु भएको दुईदिने अभिमुखीकरण तालिमका लागि सचिवालय आफैंले सजिलै व्यवस्थापन गर्नसक्ने भए पनि सहयोग लिएर वैदेशिक परनिर्भरता र प्रभावलाई निरन्तरता दिएको भन्दै आलोचना भएको हो। युएनडिपीले संसद् र न्यायिक क्षेत्रमा सहयोग गर्दै आएको छ। सर्वोच्च अदालतमा पनि युएनडिपीका विभिन्न परियोजना सञ्चालित छन्।
यसैबीच राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले भने यसको बचाउ गरेका छन्। उनले सामान्य अभिमुखीकरणका लागि कार्यक्रम भएकाले विदेशी हस्तक्षेप गरेको रुपमा आलोचना गर्न नहुने तर्क गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।